पत्रकार प्रेम क्षेत्री र विजय एफएमलाई सम्मान

२०७८ फाल्गुण ११ बुधबार १७:५६:०० मा प्रकाशित


गैँडाकोट । तराई क्षेत्रकै पहिलो सामुदायिक वन धुसेरी सामुदायिक वन उपभोक्ता समूह देवचुली रजहरको रजत जयन्तीमा पत्रकार प्रेम क्षेत्री र विजय एफएमलाई सम्मान गरिएको छ ।
बुधबार रजहर स्थित वनको प्राङ्गणमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्मान गर्नुभएको हो । सामुदायिक वनको संरक्षण, संवद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन, जैविक विविधता संरक्षण एवम् गरिबी न्यूनीकरणमा पत्रकारिता क्षेत्रको माध्यमबाट गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै विजय एफएम १०१.६ का सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्रीलाई सम्मान गरिएको हो ।
त्यस्तै संस्थागत विकासका लागि पु¥याएको योगदानको कदर गर्दै विजय एफएम १०१.६ लाई सम्मान गरिएको हो । एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले सम्मान पत्र ग्रहण गर्नुभएको थियो । हाम्रो वन रेडियो कार्यक्रम मार्फत विजय एफएमले सूचना तथा समाचार सम्प्रेषण गर्दै आएको छ ।   
२०५२ सालमा स्थापित धुसेरी सामुदायिक वन उपभोक्ता समूह गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार २०७५ र २०७६ बाट सम्मानित देशकै उत्कृष्ट वन हो । यसले जडिबुटी प्रशोधन, जैविक विविधता, वातावरण सन्तुलन, गरिबी न्यूनीकरण, सिमसार र पर्यापर्यटन प्रवद्र्धन तथा संरक्षण लगायतका क्रियाकलापलाई अघि बढाएको वनका अध्यक्ष लोकबहादुर कार्की क्षेत्रीले जानकारी दिनुभयो ।