अन्तिम दिन आज गैँडाकोटमा सडक मानव र छुटपुटको जनगणना गरिदैँ 

२०७८ मङ्सिर ९ बिहीबार ११:४४:०० मा प्रकाशित


गैँडाकोट । कार्तिक २५ गतेदेखी सुरु भएको राष्ट्रिय जनगणनाको आज अन्तिम दिन छुटपुटहरुको विवरण संकलन गरिदैँछ । 
आज सडक मानव, मागेर हिंड्ने एवं छुटपुटको विवरण संकलन गरिने स्थानीय जनगणना कार्यालय गैँडाकोटका प्रमुख एवं स्थानीय जनगणना अधिकारी देवेन्द्र गौतमले जानकारी दिनुभयो । कार्यालय अन्र्तगत गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका बुलिङटार गाउँपालिकाको जनगणना सकिएको उहाँले बताउनुभयो । भोलीदेखि गणकहरुबाट संकलन गरिएको विवरण संकलन गरिने समेत उहाँले बताउनुभयो । जनगणनामा कोही छुटेको भए नजिकको वडा कार्यालयमा सम्पर्क गर्न समेत उहाँले आग्रह गर्नुभयो । 
‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ १२ औँ राष्ट्रिय जनगणना चलिरहेको छ । गैँडाकोटमा २० जना सुपरिवेक्षक र ९७ जना गणक, देवचुलीमा १६ जना सुपरिवेक्षक र ७० जना गणक, बुलिङटारमा ६ जना सुपरिवेक्षक र २१ जना गणक खटिएका छन् ।   
जनगणनाको प्रारम्भिक नतिजा आउन झण्डै तीन महिना लाग्ने अनुमान छ । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । नेपालमा संघीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो ।