श्रीलक्ष्मीनृसिंह दिव्यधाम गैँडाकोटमा अन्नकुट उत्सव सम्पन्न 

२०७८ कार्तिक २३ मंगलबार १८:२५:०० मा प्रकाशित


गैँडाकोट । श्रीलक्ष्मीनृसिंह दिव्यधाम गैँडाकोट १ मा मंगलबार अन्नकुट उत्सव सम्पन्न भएको छ । भगवानका लागि ५६ व्यञ्जन स्वरुप प्रसादहरु भोग लगाइएको छ । मन्दिरमा नियम, निष्ठा र धार्मिक विधि पूर्वक अन्नकुट पर्व धूमधामका साथ मनाइएको मन्दिरका महन्त नटवर नारायणाचार्य बताउनुभएको छ ।  


प्रत्येक वर्ष कार्तिक शुक्लपक्ष भित्र प्रतिपदा तिथिमा यो पर्व मनाउने गरिए पनि विभिन्न मठमन्दिरहरुमा यस पक्षभित्र विभिन्न तिथिमा अन्नकुट मनाउने गरिन्छ ।  आज लक्ष्मीनृसिंह दिव्यधाममा छपन्न प्रकारका बेञ्जनहरु तयार पारेर भगवानलाई अर्पण गरी आज प्रसादको रुपमा सर्वसाधारणलाई अन्नकुटको प्रसाद खुवाउने चलन रहेको छ । अन्नकुटको प्रसाद ग्रहणका लागि आफै भक्तजनहरू आउने गरेका छन् । गैँडाकोटमा रहेका अन्य मठमन्दिरहरुमा भने प्रतिपदा तिथिमा नै यो पर्व मनाइ सकिएको छ । 


अन्नकुट पर्व र गोवर्धन पर्वतबीच खास सम्बन्ध रहेको छ ।  द्वापर युगमा भगवान कृष्णको अवतारकै समयमा यस पर्वको प्रारम्भ भएको धर्मग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ । गाईगोरु आदि मानव सेवा गर्ने प्राणीलाई स्नान गराएर फूल माला, धूप, चन्दन आदिले पूजा गरिन्छ । 


भगवानका लागि भोग नैवेद्यमा नियमित प्रसादका अतिरिक्त अन्नबाट बनेको काँचो वा पकाएको भोग, फलफूल आदि अनेक प्रकारका पदार्थ अर्पण गर्ने गरिन्छ जसलाई ५६ भोग भनिन्छ। सोही भोग प्रसादको रुपमा भक्तजनहरुमा बाँड्ने गरिन्छ । यो पर्वका दिन नयाँ अन्नबाट बनेको भोग भगवानलाई अर्पण गरिन्छ त्यसैले यो पर्वको नाउँ अन्नकुट परेको संस्कृतिविदहरुको भनाइ छ । 


प्राचीन कालमा व्रजवासी वर्षाका स्वामी ईन्द्रलाई प्रसन्न राख्नका लागि यो पर्व मनाउन सुरु गरिएको हो । व्रजवासीले सोही दिन भगवान इन्द्रको पूजा गरी षडरसपूर्ण ५६ भोग, ३६ व्यञ्जन भोग लगाउने गर्थे। सोही दिन द्वापर युगमा भगवान श्री कृष्णले इन्द्रको पूजा बन्द गराएर गोवर्धन पर्वतको पूजा आरम्भ गराउनुभएको थियो । यो देखेर भगवान इन्द्र कुपित भएर मूसलाधार वर्षा गराए, जसबाट पूरै व्रज डुब्न लाग्यो ।

त्यसपछि भगवान श्रीकृष्णले गोप र गोपीहरुलाई बचाउनका लागि आफ्नोे हातको कान्छी औँलामा गोवर्धन पर्वतलाई उठाउनुभएको थियो । सोही दिनबाट ब्रजवासीलाई सुरक्षा प्रदान गर्ने पर्वत गोवर्धनलाई पूजाअर्चना आरम्भ गराएर अन्नकुट पूजाको समेत आरम्भ गराएको पौराणिक कथा रहेको छ ।