यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय 

२०८३ जेठ ११ सोमबार १८:०७:०० मा प्रकाशित

काठमाडौँ । सरकारले नेपाल-चीन जोड्ने चिलिमे-केरुङ विद्युत् प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने ‘लेटर अफ रिप्लाई’ स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।

 

त्यस्तै, कृषि तथा वन मन्त्रालयको प्रस्तावअनुसार आर्थिक वर्ष २०८३÷८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । जसअनुसार मोटो धानको प्रति क्विन्टल रु ३ हजार ६ सय  र मध्यम धानको प्रति क्विन्टल रु ३ हजार ८ सय ६० तोकिएको छ ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयअन्तर्गत सहकारी क्षेत्रमा भएका बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरिएको छ ।