भाग्योदय आधारभूत विद्यालयको ३७ औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

२०८२ चैत २९ आइतबार १७:०२:०० मा प्रकाशित

गैंडाकोट । भाग्योदय आधारभूत विद्यालयको ३७ औँ वार्षिक उत्सव तथा अभिभावक भेला आइतबार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ ।


कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विद्यालयको सुधार तथा शैक्षिक गुणस्तर वृद्धिमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले समुदायका विद्यार्थीको समग्र विकासका लागि शिक्षक र अभिभावक दुवै सचेत हुनुपर्नेमा जोड दिनुभयो। साथै, विद्यालयको जीर्ण भवन मर्मत र निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विद्यार्थीलाई प्रदान गरिएका शैक्षिक सामग्रीको सही सदुपयोग गर्न विद्यार्थी तथा अभिभावकलाई आग्रह गर्नुभयो।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीता लम्सालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो। साथै, उहाँले नविनतम प्रविधिको प्रयोगमार्फत शिक्षण विधिलाई प्रभावकारी बनाउँदै शैक्षिक गुणस्तर वृद्धि गर्ने उल्लेख गर्नुभयो।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद सापकोटाले विद्यालयको विकासमा विभिन्न व्यक्तिहरूको योगदान रहेको स्मरण गर्दै विद्यालयप्रति माया गर्ने व्यक्तिको कमी नभएको बताउनुभयो। उहाँले भौतिक तथा शैक्षिक विकासका लागि विभिन्न योजना बनाएर काम गरिरहेको र त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


गैँडाकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सुभाष चापागाईंले २०४६ सालमा स्थापना भएको विद्यालयलाई यहाँसम्म ल्याउन सबैको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विद्यालयको भौतिक विकाससँगै अभिभावक सचेतना पनि उत्तिकै आवश्यक रहेको धारणा राख्नुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक, अभिभावक तथा सरोकारवाला पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।


चिल्ड्रेन अफ नेपालका संस्थापक गङ्गा बहादुर  पाण्डेले  विद्यालयको गुणस्तर वृद्धि गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बताउनुभयो । आधारभूत तहमा बढ्दो चुनौतीबीच विद्यालयले विद्यार्थीको गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो । साथै, संस्थाकोतर्फबाट विद्यालयमा निर्माण भएको दुईकोठे भवनको मर्मत सम्भारमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।


विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नरहरी सापकोटाले गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि आवश्यक आर्थिक तथा भौतिक सहयोग गर्न आफू सधैँ तयार रहेको बताउनुभयो। उहाँले यो समुदायकै विद्यालय भएकाले सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।


विद्यालयका निवर्तमान प्रधानाध्यापक डिल्लीप्रसाद अम्बैले आफ्नो कार्यकालमा अघि सारेका केही योजना कार्यान्वयन हुँदै गरेको देख्दा खुसी लागेको बताउनुभयो। उहाँले विद्यालय अझै उन्नत बनोस् भन्ने शुभेक्षा व्यक्त गर्नुभयो ।


वार्षिक उत्सवको अवसरमा पुरस्कार वितरण कार्यक्रम समेत आयोजना गरिएको थियो। साथै, विभिन्न अक्षय कोषबाट प्राप्त ब्याज रकममार्फत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति  पनि प्रस्तुत गरेका थिए ।