अब्बल विद्यार्थीको सुझाव “विदामा पनि सिकाइ निरन्तरता दिनुस”

२०८२ चैत २९ आइतबार १५:३७:०० मा प्रकाशित


नवलपरासी पूर्व । बैशाख २१ गतेबाट यस शैक्षिक सत्रको पठनपाठन सुरु हुने तयारी भइरहँदा विद्यार्थीहरू अहिले लामो विदाको समय बिताइरहेका छन् । यो समयलाई कसरी उपयोग गर्ने भन्ने विषयमा अभिभावक र शिक्षकहरू चिन्तित देखिन्छन् । तर, भर्खर सम्पन्न विएलइ परीक्षामा ४ जिपिए हासिल गरेका विद्यार्थीहरू भने विदालाई अवसरका रूपमा लिन सुझाव दिन्छन् । 


गँैडाकोट ५ मा रहेको जनक नमुना माध्यमिक विद्यालयकी प्रकृति रेग्मी र गैँडाकोट ८ मा रहेको कालिका नमुना माध्यमिक विद्यालयकी आकृति आचार्य दुवैले विदामा पूर्ण रूपमा पढाइबाट टाढा नहुन आग्रह गरेका छन् । उनीहरूका अनुसार सन्तुलित रूपमा समय व्यवस्थापन गर्दै अध्ययन गरेमा आगामी कक्षाको तयारी सहज हुन्छ ।

आधारभूत तह कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा (चार जिपिए) प्राप्त गर्नुभएकी प्रकृति रेग्मी र आकृति आचार्य


आधारभूत तह कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्नुभएकी प्रकृति रेग्मी भन्नुहुन्छ “विदा भनेको आराम मात्र होइन, आफैँलाई सुधार्ने समय पनि हो । म दैनिक कम्तीमा २–३ घण्टा पढ्थेँ, बाँकी समय मनोरञ्जन र परिवारसँग बिताउँथेँ।” उहाँका अनुसार नियमित पुनरावृत्ति र नयाँ विषयको सामान्य अध्ययनले आत्मविश्वास बढाउँछ ।


त्यस्तै, कालिका नमुना माविकी अब्बल विद्यार्थी आकृति आचार्यले पनि विदाको समयमा अप्ठेरो लाग्ने विषयलाई प्राथमिकतामा राख्न सुझाब दिनुहुन्छ । विदामा पनि आफूलाई सहज हुने किसिमले कोर्स भन्दा बाहिरका विषय अध्ययन गर्न सकिने आचार्यको भनाइ छ ।  


शिक्षाविद्हरू पनि विदामा सिकाइलाई रोक्ने भन्दापनि सिकाईको निरन्तरतामा लाग्नुपर्ने सुझाव दिन्छन्। अत्यधिक दबाब बिना, रुचिअनुसारको अध्ययन, पुस्तक पढ्ने बानी, र सिर्जनात्मक क्रियाकलापले विद्यार्थीको समग्र विकासमा सहयोग पु¥याउने उनीहरूको भनाइ छ । विद्यालय खुल्न अझै ३ साता भन्दा बढी समय हुँदा, अब्बल विद्यार्थीहरूको सन्देश स्पष्ट छ—विदा रमाइलोका लागि मात्र होइन, भविष्यको तयारीका लागि पनि हो । सन्तुलित अभ्यासले नै सफलताको ढोका खोल्ने उनीहरूको अनुभवले देखाएको छ ।