मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

२०८२ चैत २८ शनिबार १८:५५:०० मा प्रकाशित

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मौलाकालिका मन्दिरमा यतिबेला दर्शनार्थीको उल्लेख्य घुइँचो लागेको छ । विशेषगरी बिदाका दिन तथा पर्व-उत्सवका अवसरमा मन्दिरमा भक्तजनको संख्या बढ्ने गरेको हो । 

 

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष खगेन्द्रदास कँडेलका अनुसार नयाँ वर्ष २०८३ को आगमनसँगै मन्दिरमा दर्शनका लागि आउने भक्तजनहरूको संख्या झनै बढेको छ । शुद्ध मनले पूजा गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण नवलपुरसहित देशका विभिन्न स्थान र छिमेकी देश भारतबाट समेत श्रद्धालुहरू आउने गरेका छन् । मन्दिरसम्म पुग्न मौलाकालिका केबलकार सञ्चालनमा आएपछि दर्शनार्थीलाई ठूलो सहजता भएको छ । फेदीबाट छोटो दूरीमै केबलकारमार्फत मन्दिर पुग्न सकिने भएकाले विशेषगरी वृद्धवृद्धा तथा बालबालिकाका लागि यात्रा सहज बनेको छ । साथै, यहाँबाट देखिने मनमोहक प्राकृतिक दृश्यले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

 

त्यस्तै, केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार केवलकार सञ्चालनपछि पहिलेको तुलनामा मन्दिर दर्शन गर्न आउनेको संख्या बढेको र सबै उमेर समूहका मानिसलाई सहज भएको छ ।


पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणी पुलबाट करिब चार किलोमिटर उत्तरतर्फ अवस्थित यो मन्दिर समुन्द्री सतहबाट करिब ५६१ मिटर उचाइमा रहेको छ । यहाँ सिढीमार्ग, गोरेटो बाटो तथा केबलकारमार्फत पुग्न सकिन्छ ।