४९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२०८२ माघ २८ बुधबार १९:०२:०० मा प्रकाशित

काठमाडौंँ । पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियान ५६ जिल्लाका ४९३ स्थानीय तहमा सञ्चालन गरिएको छ ।

हिमाली र पहाडी भेगका २१ जिल्लाबाहेकका ५६ जिल्लामा ४९३ स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उनले खोप अभियान यही माघ २५ गतेदेखि सञ्चालन भएपछि हिमाली र पहाडी क्षेत्रमा जिल्लामा चिसो तथा हिमपात पर्ने भएकाले चैतमा खोप अभियान सञ्चालन हुने बताए। उनका अनुसार कोशीका ९ जिल्लामा ८८ स्थानीय तह, मधेसका ८ जिल्लामा ८५ स्थानीय तह, बागमतीमा १० जिल्लामा ९४ स्थानीय तह, गण्डकीका लुम्बिनीका ११ जिल्लाका ९५ स्थानीय तह, कर्णालीका पाँच जिल्लाका ३१ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा आठ जिल्लाका ७० स्थानीय तहमा सुरु गरिएको छ ।

 

सरकारले कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका तथा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पाठेघरको क्यान्सरबाट बचाउनका लागि खोप अभियान सञ्चालन गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ ।

 

शाखा प्रमुख डा गौतमका अनुसार अभियानका क्रममा २० दिनको अभियानमा करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ । रासस