गैंडाकोट-१ धारापानीमा विश्वकर्मा बाबाको मन्दिर उद्घाटन

२०८२ माघ २५ आइतबार १८:५०:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट-१ स्थित धारापानीमा मौलाकालिका विश्वकर्मा गुठी समाजको आयोजनामा विश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ । शनिबार आयोजित कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले मन्दिरको समुद्घाटन गर्नुभएको हो ।


मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले मौलाकालिका विश्वकर्मा गुठी समाजले गरेको कार्यको प्रशंसा गर्नुभयो । उहाँले मन्दिर निर्माण गरेकोमा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै मठमन्दिरको संरक्षण र प्रवद्र्धनमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । साथै, नगरपालिकाले यस समाजलाई सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


मौलाकालिका विश्वकर्मा गुठी समाजका संस्थापक अध्यक्ष गुमबहादुर विश्वकर्माले वि.सं. २०७२ सालमा समाजको स्थापना भएको जानकारी दिँदै स्थापना कालदेखि नै सामाजिक सेवाका कार्यहरू गर्दै आएको बताउनुभयो । उहाँले सुरुदेखि नै मन्दिर स्थापना गर्ने सोच रहेको र आज उक्त सपना साकार भएको उल्लेख गर्नुभयो ।  मन्दिर निर्माणका लागि संस्थामा आबद्ध सबै सदस्यहरु र प्रतिनीधीहरुको सहयोगमा देउसी-भैलो लगायत विभिन्न कार्यक्रममार्फत रकम संकलन गरिएको र नगरपालिकाको आर्थिक सहयोगले मन्दिर स्थापना सम्भव भएको उहाँको भनाइ थियो ।


त्यस्तै, संस्थाका पूर्व संस्थापक अध्यक्ष जसबहादुर विश्वकर्माले आफ्नो कार्यकालमा मन्दिरको स्थापना गरि मन्दिर दर्ता गरिएको र त्यसमा आवश्यक सामाग्रीहरु जुटाएको स्मरण गर्नुभयो । उहाँले मन्दिरका लागी व्यक्तिगत रुपमा खानेपानी निर्माणका लागी आर्थिक सहयोग गरेको बताउदैँ आगामी दिनमा पनि मन्दिरको लागी सहयोग गर्ने बताउनुभयो । 


गैंडाकोट वडा नं. १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले आफ्नो वडामा मठमन्दिरहरूको स्थापना हुँदै जानु भगवानप्रतिको विश्वास र श्रद्धाको प्रतिफल भएको बताउनुभयो। उहाँले वडाले वडाभित्र रहेका मठमन्दिर, पाटीपौवा लगायत धार्मिक तथा सामाजिक संरचनामा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


संस्थाका उपाध्यक्ष प्रेमकुमारी विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सचिव वीरबहादुर विश्वकर्माले सहजीकरण गर्नुभएको थियो।


कार्यक्रममा संस्थाका पूर्व संस्थापक अध्यक्ष जितबहादुर विश्वकर्मा, जसबहादुर विश्वकर्मा, कोषाध्यक्ष सीता विश्वकर्मा, सहसचिव नानीमाँया विश्वकर्मा, कार्यक्रम संयोजक केहरसिंह विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।