गैंडाकोटका प्रदीप परियार एन्फा यु–१८ राष्ट्रिय लिगका लागि छनोट

२०८२ पौष २२ मंगलबार १५:०१:०० मा प्रकाशित

गैंडाकोट । जिल्लामा रहेका १८ वर्षमुनिका फुटबल खेलाडीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको खेलाडी छनोट तथा ट्यालेन्ट हन्ट कार्यक्रमबाट गैंडाकोटका प्रदीप परियार एन्फा यु-१८ राष्ट्रिय लिग फुटबल अन्तर्गत चर्च ब्वाइज युनाइटेड क्लबका लागि छनोट भएका छन् ।


नवलपुर जिल्ला फुटबल संघको समन्वयमा डायमण्ड युथ सोसाइटी र नवलपुर फुटबल क्लबको पहलमा आयोजित उक्त ट्यालेन्ट हन्ट कार्यक्रमबाट परियार छनोट भएका हुन्। एन्फा कोच सुवास तामाङ र अनमोल विकको पहल तथा सहयोगमा सम्पन्न छनोट प्रक्रियामा परियारले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय स्तरको लिगमा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन् ।


यस अवसरमा गैंडाकोट खेलकुद समितिले सोमबार समितिको कार्यालयमा बधाई तथा सम्मान गरेको छ । समितिका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचिव प्रकाश पौडेलले सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै वक्ताहरूले प्रदीप परियारको सफलताले गैंडाकोट तथा नवलपुर जिल्लाको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपिएको उल्लेख गर्दै आगामी दिनमा अझ मेहनत र अनुशासनका साथ खेल जीवनलाई अघि बढाउन शुभकामना व्यक्त गरेका छन् ।