श्री विनायक कृषि सहकारी संस्था लिमिटेडको १६ औं साधारण सभा सम्पन्न 

(नवलपुरमा मलको अभाव नरहेको सचिव रेग्मीको भनाई) 

२०८२ मङ्सिर १६ मंगलबार १८:०३:०० मा प्रकाशित

गैंडाकोट । श्री विनायक कृषि सहकारी संस्था लिमिटेडको १६ औं साधारण सभा तथा श्री बिनायक खाद्य तथा प्याकेजिड्ड उद्योग समुद्घाटन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रम गैंडाकोट ८ स्थित श्री विनायक खाद्य तथा प्याकेजिङ्ग उद्योग परिसरमा भएको हो ।


कार्यक्रमका प्रमुख अतिथी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव वासुदेव रेग्मीले गण्डकी प्रदेश सरकारको कृषि रुपान्तरणको लक्ष्य हासिल गर्न, विनायक कृषि सहकारी जस्ता संस्थाहरुले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले नवलपुरमा मलको अभाव नभएको उल्लेख गर्दै सहकारीमार्फत आवश्यक मल ल्याई उपभोक्तालाई सहज रूपमा वितरण गर्न आग्रह गर्नुभयो ।

गैंडाकोट नगरपालिकाका सहकारी अधिकृत देवेन्द्र गौतमले कृषि उत्पादन क्षेत्रमा अवसर र चुनौतीहरु धेरै आउने हुँदा यस्ता चुनौतीहरु पार गर्दै सदस्यको उत्पादनको लागत मूल्य कम गर्नु र उनीहरुलाई लाभ दिई प्रेरित गरीराख्नुमा सहकारीले महत्व भूमिका निर्वाह गरेको बताउनुभयो । 


श्री विनायक कृषि सहकारी संस्था लिमिटेडले हालसम्म नगर क्षेत्रभित्रका करिब २० हजार घरपरिवारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सेवा प्रदान गर्दै आएको अध्यक्ष तिलक प्रसाद कंडेलले जानकारी दिनुभयो  ।


सहकारीले बीउबिजन प्रमाणित गरी गुणस्तरीय बीउ सरल र सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको सचिव लक्ष्मीदत्त सापकोटा लिलाले बताउनुभयो । त्यस्तै, सहकारीको कोषाध्यक्ष तेजेन्द्र चालिसेका अनुसार चालु आर्थिक वर्षमा सहकारीको आयव्यय ४ करोड ७६ लाख ७५ हजार ६ सय १९ रूपैयाँ रहेको छ । 


लेखा तथा सुपरिवेक्षण समितीको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक हरिप्रसाद सापकोटाले अमरापुरी तथा हर्कपुर सेवा केन्द्रमा नुन राख्ने गोदाम व्यवस्थापन गरिएको बताँउदै विषादी तथा खाद्यवस्तु बिक्री वितरण गर्दा सुरक्षाका मापदण्ड अपनाउनुपर्ने र कृषकहरुले जनगुनासो सुन्ने संस्थाले आधिकारीक व्यक्ति तोक्नुपर्ने सुझाव दिनुभयो । 


संस्थाका उपाध्यक्ष टिकाराम सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सचिव लक्ष्मीदत्त सापकोटा ‘लिला’ले सहजीकरण गर्नुभएको थियो । 


कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष पे्रम सापकोटा, गैंडाकोट दुग्ध उत्पादक कृषि सहकारी संघका अध्यक्ष अगन्धर सापकोटा, श्री विनायक कृषि सहकारीका पूर्व अध्यक्ष कृष्ण प्रसाद खनाल, सहकारी समन्वय मञ्च गैंडाकोटका अध्यक्ष बाबुराम खनाल, वडा नं ८ का वडासदस्य खगेश्वर सापकोटा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा १० जना संस्थाका सदस्यहरुलाई सम्मान गरिएको थियो ।