चितवन राइनोजद्वारा समर्थकलाई काठमाडौँ लैजाने र ल्याउने निःशुल्क बस व्यवस्था

२०८२ मङ्सिर २ मंगलबार १४:०१:०० मा प्रकाशित

चितवन । क्रिकेट क्लब चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौँ लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । नेपाल प्रिमियम लिग (एनपीएल)को फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकलाई चितवनदेखि काठमाडौँसम्म निःशुल्क बस सेवाको व्यवस्था गरेको हो ।

 


राइनोजको खेल हुने दिन बिहान खेल हुँदा ५ बजे र दिउँसो खेल हुँदा बिहान ९ बजे चितवनबाट बस छुट्ने चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिनुभयो । खेल समाप्त भएपछि पुनः चितवन ल्याइने छ । यसका लागि ६ वटा बसको व्यवस्था गरिएको छ । खेलको अनलाइन टिकट हुने दर्शकलाई बसमा लैजाने व्यवस्था गरिएको हो ।

 


बस चितवन मेडिकल कलेज (सीएमसी) को प्राङ्गणबाट छुट्ने छ भने समर्थकलाई त्रिवि मैदानसम्म लैजाने छ । चितवन राइनोजको पहिलो खेल आज ११ः४५ बजेदेखि कर्णाली याक्ससँग चलिरहेको छ । यसैगरी मङ्सिर ४ गते दिउँसो ४ बजे लुम्बिनी लायन्ससँग, मङ्सिर १० गते ४ बजे विराटनगर किङ्ससँग, मङ्सिर १२ गते ११ः४५ बजे काठमाडौँ गोर्खाजसँग चितवन राइनोज खेल्दैछ । यसैगरी मङ्सिर १६ गते ११ः४५ बजे जनकपुर बोल्टस्सँग, मङ्सिर १८ गते ४ बजे सुदुरपश्चिम रोयल्ससँग र मङ्सिर २० गते ३ः३० बजे पोखरा एभेन्जरसँग चितवन राइनोज खेल्दैछ । यी खेलपछि अंक तालिकाका आधारमा अरु खेल तय हुनेछन् ।

 

खेलको पूर्वसन्ध्यामा चितवन र आसपासका जिल्लामा चितवन राइनोजको समर्थनमा ठाउँठाउँमा झण्डा, तुल, ब्यानर, स्टिकर टाँसिएका छन् । रासस