गाइने र समय 

२०८२ मङ्सिर १ सोमबार १३:४३:०० मा प्रकाशित

बाल्यकालमा देखेका, सुनेका र भोगेका कुराहरूको स्मरण गर्दा अहिले छुट्टै रमाइलो लाग्दो रहेछ । त्यो समय र अहिलेको समय अनि समयसँगै भएका भोगाइहरु भने आकाश पाताल झैँ फरक हुँदा रहेछन् । सानो छदा गाउँमा नयाँ केही कुरा पायौँ भने औधी रमाइलो लाग्थ्यो । आज मलाई सोही दिनहरुको झल्को आयो । २०८२-७-२७ गते बिहान ७ बजेर ४५ मिनेट भएको थियो । मैले भित्र बिहानको खाना बनाउने तयारी गर्दै थिएँ  । एक्कासी अगाडि सारङ्गीको धुनसँगै गीत बज्दै थियो, 
                जाने का होला,  जाने का होला,
                उनै रामलाई था होला जाने का होला,

 

म हत्तनपत्त  छिट्टो उम्काउने भनेर तल झरेँ । किनकि मलाई हतार थियो । हातमा पैसा थियो छिट्टै उम्काउने स्वरमा । तर त्यहाँ उहाँहरुलाई देखेपछि मलाई केही बुझ्ने जिज्ञासा जाग्यो  ।  त्यो पनि मलाई तुरुन्तै बाल्यकालको स्मरण आएको हुँदा । 

 

सानो छँदा गाउँमा गाइने दाइहरु आउँथे । जसलाई गन्धर्व जाति आए पनि भनिन्थ्यो । एक्लै आए सारंगी मात्र लिएर आउने गर्थें । सारङ्गी  बजाउँदै  लोक भाकामा गीत गाउँथे । कोही आफ्नै उत्तराधिकारीलाई लिएर आउँथे । मादल बजाउन र गीतसँगै गाउन सिकाउँथे । हरेक पटक आउँदा सन्देशमूलक  गीत  अनि नयाँनयाँ भाका लिएर आउँथे ।  गाइनेहरुले पनि आ-आफ्ना गाउँ भाग लगाएर गीत गाउँदै हिड्ने गर्थे । टाढा टाढासम्म पुग्थे त्यसैले होला गाइनेहरु उनै पुरानै भएपनि उनीहरुले पटकै पिच्छे नयाँनयाँ सन्देशमूलक गीतहरु ल्याउँथे  । 


लोकलयमा गाउँदै सारङ्गी र मादल बजाउँथे । उनीहरुले गाएको गीत सुनेर हामी केटाकेटी  भने रमाइलो मानेर फुरुङ्गी हुन्थ्यौँ । कतिबेला रुन्थ्यौँ  पनि । किनकि  उनीहरुले  कतै सासु बुहारीका कहानी त कतै देवर देवरानीका कहानी सुनाउँथे । कतैकतै नन्द भाउजू त कतै देवर भाउजूका दुखद कहानी सुनाउँथे । बिछोडिएका साथीभाइका कहानी सुनाउँथे  । कतै मिलन र विछोडका गीत गाउँथे । कतैकतै युद्धमा मारिएका लाहुरेका कथा त कतै आफन्तले आफन्त नै मारेका कथा गीतका माध्यमबाट सुनाउँथे । पुराना पुराना लोकभाकामा नयाँ सन्देशमूलक गीतहरू गाउँथे,  कतै परदेशिएका  छोराका कथा त कतै हत्या र हिंसाका कथा, कतै राजा महाराजाका कथा गीतबाटै सुनाउँथे । हामी चाख मानेर सुन्थ्यौँ । अन्य कतैतिर केही  मनोरञ्जनका माध्यमहरु नभएकाले पनि  होला । 

 

बुढापाकाभन्दा हामी केटाकेटी गाइने आउँदा र उनीहरूले गीत गाउँदा अत्यन्तै हर्षित हुन्थ्यौ । मलाई लाग्थ्यो आमाले धेरैबेर रोकेर धेरै समय गीत गाउन लगाए हुन्थ्यो । उसले गीत गाउँदै गर्दा आमाले मकै छिटोछिटो नदिए हुन्थ्यो । मकै दिए पनि हाम्रो घरमा धेरै बेर गीत गाए हुन्थ्यो तर उनीहरू गाउँ  भरिका धेरै घरमा जानु पथ्र्यो । पालैपालो उनै वा केही फरक सन्देशमूलक गीतहरू प्रत्येक घर सुनाउँथे । हामी केटाकेटी रमाइलो लागेर ती गाइनेका पछिपछि गाउँभरि गीत गाउँदा सबैका घरघरमा जान्थ्यौँ । सबैका आमाहरुले जति बोलाउँदा पनि नसुने झैँ गरेर गाइनेका अघि पछि गरेर हामी सबै घर पुग्थ्यौँ   । 

 

गाइनेहरूले थोरै अन्न जे दिए पनि झोली थापेर हिँड्थे । कसैले मकै छोडाएका दाना कचौरामा ल्याएर झोलीमा थपिदिन्थे भने कसैले  घोगा मकै त कसैले पैसा पनि दिन्थे। गाउँमा  लाहुरे आएका छन् भने उनीहरुले गीत गाउँदै पैसा थप झार्ने जमर्को गर्थे । मकै घोगासँगै लैजाने गर्थे । राति बास बस्ने ठाउँमा मकै छोडाएर डाँठ बालेर खाना पकाउन सजिलो हुन्छ भन्थे । गाउँमा होटलको व्यवस्था थिएन । कसैले-कसैले बाहिर बास दिन्थे भने कसैको खाली घर गोठ भए त्यसैमा बास बसेर पकाएर खान्थे ।

 

त्यसैले होला आजका गाइने देखेर मलाई केही उत्सुकता जाग्यो । पहिले उहाँहरु गाइने हो कि होइन भनेर बुझ्न मन लाग्यो । उहाँहरु दुई जना हुनुहुन्थ्यो । दुबै जना झण्डै छ दशक माथिकै हुनुपर्छ । 
घर सोधेँ अर्घाखाँचीको सन्धिखर्क नजिकै बिहार भन्ने ठाउँमा बताउनुभयो । नाम सोधेँ भन्नुभयो ।
                      भोल बहादुर गन्धर्व
                      जुल्फे बहादुर गन्धर्व 


मलाई विश्वास लाग्यो । किनकि हामी सानो छँदा हाम्रो गाउँमा जाने गाइने दाइहरु पनि त्यही अर्घाखाँचीको सन्धिखर्क नजिकैका हुनुहुन्थ्यो । उहाँहरुको अनुमति लिएर मैले फोटो भिडियो लिएँ । मैले सोधेंँ, तपाईंहरुले त लोकभाकामा गाइने गाना गाउने होइन र ?

 
जुल्फे गन्धर्वले भन्नुभयो,  हजुर बहिनी हो नि,  हुन त  । तर आजभोलि हाम्रा ती गाइने गाथा गाएको कसैले नसुन्ने रहेछन् । सुन्ने मान्छे त्यस्तै हो कि गाइने र समय फरक हो खै ?  हामीले गाउने गीत त सबै समयले गाइदियो । मोबाइल र  ल्यापटपले । त्यसैले, गाइनेहरुको अस्तित्व बचाउन भनेर ठाँउ अनुसारको गीत गाउँदै हिजो गैंडाकोट आएका हौँ । देवघाटको नजिकै भगवानकै गाथा गाएका हौँ बहिनी । मलाई मनमा चसक्क भयो, त्यो बेलाको म, समय र गाइने, यो बेलाको म, समय र गाइने ।

 

ती गाइने वा गन्धर्व नेपालका परम्परागत सारङ्गी अनि कथागत रुपमा गीत गाउँदै हिडेर जीविकोपार्जन गर्ने जाति हुन् । त्यतिबेला खासै सञ्चारका माध्यमहरू थिएनन्, मनोरञ्जनका साधनहरू थिएनन् । उनीहरू प्रायः गाउँ-गाउँमा घुम्दै  सारङ्गी  र भए मादल जस्ता वाद्य यन्त्र बजाउँदै गीत गाउँदै हिड्ने गर्थे । गाइनेहरू लोक भाकामा सन्देशवाहक  गीतहरु  गाउँदै हिड्ने गर्थे त्यसैले उनीहरु लोकगायकका रूपमा चिनिन्थे ।


गाइनेभन्ने नाम पनि गाउने मानिस भन्ने अर्थमा प्रचलित भएको होला, गीतमार्फत समाजका घटना, नायक-नायिका, प्रेम, पीडा, र विगतका कथा प्रस्तुत गर्ने गर्थे । नेपाली लोकसारङ्गको जरा गन्धर्वहरूको गीत र सारङ्गीमा गढिएको मानिन्थ्यो ।


उनीहरूले लोकसंस्कृति, परम्परा र इतिहास जीवित राख्न ठूलो योगदान दिएका थिए । तर अहिले धेरै गन्धर्वहरू कृषि, रोजगारी र आधुनिक सारङ्गी  क्षेत्रमा पनि सक्रिय भएका कारण  यो जातिको परम्परागत पेशा विलुप्त हुन पुगेको छ । धेरै गन्धर्वहरू शहरतिर गएर अन्य व्यवसाय गर्न थालेका छन् । संस्कृतिको  जगेर्ना गर्ने हो भने आधुनिककतालाई पनि आत्मसात् गर्दै सरकार विभिन्न संघसंस्था  र स्वयम्  गन्धर्व जातिले पनि  सङ्गीत संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरू ल्याएर गाइने वा गन्धर्वहरुको परम्परा संरक्षण गर्नुपर्छ ।