पोखरा सहकारीको ८८ करोडभन्दा बढी रकम हिनामिना, अध्यक्षसहित ७ जना पक्राउ
पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ । सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना भएको पाइएको हो ।
प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङलाई पक्राउ गरेको छ । यस्तै, सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदी पनि पक्राउ परेका छन् ।
वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनका अनुसार सहकारीको रकम हिनामिना भएको देखिएको छ । कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएको हो । पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान थालिएको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।