नारायणी किनारमा खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु
चितवन । नारायणी नदी किनारमा आज (मंगलबार) देखि खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा महोत्सव सुरु भएको हो ।
मंसिर २ गतेसम्म चल्ने महोत्सवको आज बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले भर्चुअल माध्यमबाट उद्घाटन गरे । काठमाडौंबाट भरतपुरका लागि उडानमा ढिला हुँदा मुख्यमन्त्री भौतिक रुपमा उपस्थित हुन नसकेका हुन् । भर्चुअल माध्यमबाट जोडिदै मुख्यमन्त्री बानियाँले महोत्सवको सफलताको कामना गरे । यो महोत्सवले खेलकुदलाई पर्यटनसँग जोड्न मद्त मिल्ने उनको भनाइ थियो ।
आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले पहिलो दिन शोभायात्रामा देखिएको सहभागिताले उत्साहित बनाएको बताए । उनले महोत्सव सफल हुने विश्वास पनि व्यक्त गरे ।
महोत्सवको उद्घाटन अघि झाँकीसहितको शोभायात्रा निकालिएको थियो । महोत्सव परिसरबाट निस्किएको शोभायात्रा लीलाचोक, पोखरा बसपार्क, डांग्रेचोक, क्षेत्रपुर, लायन्सचोक, शहिदचोक, पुलचोक हुँदै पुनस् महोत्सव परिसरमा पुगेर सकिएको थियो । शोभायात्रामा दुई जना भन्दा बढीको सहभागिता रहेको थियो ।
यस्तै, उद्घाटनको अवसरमा विभिन्न खेलको डेमोन्स्ट्रेसन पनि प्रस्तुत गरिएको थियो । महोत्सवमा व्यापिरिक, कृषि, नेपाली उत्पादन, खाजालगायतका लागि ३ सयभन्दा बढी स्टल रहेका छन् । महोत्सव परिसरभित्र प्रवेशका लागि लन्डन ब्रिज निर्माण गरिएको छ । दर्शकहरुले मुख्य प्रवेशद्धारमा टिकट लिएपछि लन्डन ब्रिज चढेर भित्र प्रवेश गर्नेछन् ।
लन्डन ब्रिजबाट भित्र प्रवेश गरेपछि दर्शकहरुले चितवनमा नै पहिलो पटक महोत्सव परिसरभित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने महोत्सव संयोजक विकल क्षेत्रीले बताए ।
महोत्सवमा बिच भलिवल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइनेछ । यस्तै, नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सवका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि निस्शुल्क प्रवेशको व्यवस्था गरिएको छ । आज पहिलो दिन भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।