सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

२०८२ कार्तिक १७ सोमबार १७:२०:०० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न निर्देशन दिइन् । उनले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको सुनिश्चितता गर्न निर्देशन दिइन् ।

 

वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण दिन आज आयोजित मन्त्री र सचिवहरूको बैठकमा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाबमोजिम नतिजामुखी हुन मातहतका निकायलाई निर्देशन दिइन् उनको सचिवालयले जनाएको छ ।

 

“भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सबै मन्त्रालयहरूले ‘ब्लुप्रिन्ट’ तयार गरी कार्यान्वयन गर्नुहोस्”, प्रधानमन्त्री कार्कीले भनिन्, “निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्नुहोस् ।”

 

आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अवलम्बन गर्नुपर्नेलगायतका १४ बुँदे निर्देशन दिँदै उनले कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई व्यवस्थित गरी अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिइन् । रासस