भिडिआरसीमा नयाँ कार्यसमितिको सपथग्रहण सम्पन्न

२०८२ कार्तिक २ आइतबार १५:४८:०० मा प्रकाशित


नवलपरासी पूर्व । विजय विकास स्रोत केन्द्रको ४० औँ वार्षिक साधारण सभा तथा २४ आँै अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको आइतबार विहान सपथग्रहण भएको छ । निर्वाचन समितिका संयोजक नारायण सापकोटाले निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

विजय विकास स्रोत केन्द्रको अध्यक्षमा कृष्णप्रसाद सापकोटा, केन्द्रको उपाध्यक्षमा डा. भूमिराज चापागाईं, सचिवमा प्रेमप्रसाद सापकोटा, कोषाध्यक्षमा बेलबहादुर दराई र सह–सचिवमा श्रीधर उपाध्याय, सदस्यहरुमा खड्गजङ्ग गुरुङ, सीता रिजाल, डा. भीमप्रसाद आचार्य, पूर्णबहादुर विश्वकर्मा र मेनका चापागाईं (काप्री)ले शपथ ग्रहण गर्नुभएको हो । 


उत्प्रेरक व्यक्ति गोविन्दराज विनोदी, संस्थाका पूर्व अध्यक्ष खेमराज सापकोटाले देश काल परिस्थिति अनुसारको गतिशिलतामा संस्थालाई लैजान नयाँ कार्यसमितिलाई शुभकामना दिनुभएको छ । निर्वाचन समितिका संयोजक नारायण सापकोटाले संस्थालाई थप मूल्यवान बनाएर अघि बढ्न कार्यसमितिमा नयाँ पुस्ताको सहभागिता सुनिश्चत गरिएको बताउनुभयो । 


निर्वाचन समिति सदस्य फुलुमाया पराजुलीले दुःख कष्ट र संघर्षको पाइलाहरूले संस्था यहाँसम्म आएको उल्लेख गर्दै सबैलाई जोडेर अघि बढ्न सुझाब दिनुभएको छ । पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य त्रिलोचन सापकोटाले गर्नुभएको थियो । 


विजय विकास स्रोत केन्द्रका नवनियुक्त अध्यक्ष कृष्णप्रसाद सापकोटाले विजय विकास स्रोत केन्द्र सार्वजनिक नासो भएको हुँदा, संस्थालाई थप मूल्यवान सहित अर्को पुस्तामा हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा संस्थापक ऋषिराम सापकोटा, प्रमुख कार्यकारी दीपनारायण सापकोटा, केन्द्रका प्रशासन तथा वित्तिय विभागका कालिदाश गौडेल लगायतको उपस्थिति रहेको थियो । विजय विकास स्रोत केन्द्रको कार्यसमितिको पहिलो बैठकले बीरभद्र सापकोटालाई कार्यसमिति सदस्य पदमा मनोनित गरेको छ । महिला तर्फको एकजना सदस्य मनोनयन गर्न बाँकी रहेको संस्थाका सचिव प्रेमप्रसाद सापकोटाले बताउनुभएको छ ।