विजय विकास स्रोत केन्द्रमा नयाँ कार्यसमिति चयन

नवलपरासी पूर्व । विजय विकास स्रोत केन्द्रको ४० औँ वार्षिक साधारण सभा तथा २४ आँै अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । विजय विकास स्रोत केन्द्रको अध्यक्षमा कृष्णप्रसाद सापकोटा चयन हुनुभएको छ । केन्द्रको उपाध्यक्षमा डा. भूमिराज चापागाईं, सचिवमा प्रेमप्रसाद सापकोटा, कोषाध्यक्षमा बेलबहादुर दराई र सह–सचिवमा श्रीधर उपाध्याय चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा खड्गजङ्ग गुरुङ, सीता रिजाल, डा. भीमप्रसाद आचार्य, पूर्णबहादुर विश्वकर्मा र मेनका चापागाईं (काप्री) चयन हुनुभएको छ ।
यसैगरी निर्वाचन समितिले पदेन सदस्यमा पूर्व अध्यक्ष लक्ष्मी गौतमलाई चयन गरेको निर्वाचन समितिका संयोजक नारायण सापकोटाले बताउनुभयो । निर्वाचित समितिको आइतबार विहान साढे ७ बजे विजय विकास स्रोत केन्द्रमा सपथ ग्रहण रहेको निर्वाचन समिति सदस्य त्रिलोचन सापकोटाले बताउनुभयो । २४ आँै अधिवेशनका लागि निर्वाचन समितिको संयोजकमा नारायण सापकोटा, सदस्यहरुमा फूलुकुमारी पराजुली र त्रिलोचन सापकोटा रहनुभएको थियो ।
यसअघि, विजय विकास स्रोत केन्द्रको ४० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ४० औँ वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले आगामी दिनमा जलवायु परिवर्तनको असर र प्रभाव न्यूनिकरणका लागि सामुदायिक वन, खानेपानी, स्थानीय पालिकाहरुसँग सहकार्य र समन्वयमा कार्यक्रम गरिने बताउनुभयो । वित्तीय साक्षरता र समावेशिता, चेतना सदनलाई सामुदायिक सिकाइ केन्द्रको रुपमा विस्तार तथा सेवा गुणस्तरमा सुधार गरि अघि बढ्ने सापकोटाले बताउनुभयो । सुशासनमा युवासँग विजय विकास र सशक्तिकरणमा महिलासँग विजय विकास जस्ता अभियानहरु सञ्चालन गरिने अध्यक्ष सापकोटाको भनाइ छ ।
साधारण सभामा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले ४ दशक अघि प्रजातान्त्रिक मूल्य र सामाजिक मूल्य मान्यताका साथ विकास र सुशासनको चेतना निर्माणका लागि स्थापना भएको यस संस्थाले राम्रो काम गरिहेको बताउनुभयो ।
विजय विकास स्रोत केन्द्रका सचिव डा. भूमिराज चापागाईंले संस्थाले डाइबेटिजबाट प्रभावित बालबालिकाहरुलाई उपचार र सहयोग परियोजना, न्यायका लागि साहस परियोजना, नवविवाहित जोडिका लागि प्रजनन स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताउनुभयो । आगामी दिनमा विद्यालय तहमा नागरिक शिक्षाको पाठ्यक्रमका लागि पैरवी गर्ने, सूचना साक्षरता, स्वतन्त्र निर्वाचनका लागि पैरवी लगायतका विभिन्न कामहरु गर्ने बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष सीता रिजालले आर्थिक वर्ष २०८१/०८२ मा प्रशासनिक तथा कार्यालय व्यवस्थापन र आयबृद्धि कार्यक्रम गरि ४१ लाख ७३ हजार ८ सय ८३ लाख आम्दानी र प्रशासनिक, आयवृद्धि र कल्याणकारी कार्यक्रम गरि ६० लाख ८८ हजार ७५३ रुपँैया खर्च रहेको जानकारी दिनुभयो । साधारण सभाले सचिव र कोषाध्यक्षको प्रतिवेदनलाई सर्वसम्मतिले पास गरेको छ । प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरु युवराज सापकोटा, त्रिलोचन सापकोटा, पार्वती कंडेलले जिज्ञासा तथा सुझाब प्रस्तुत गर्दै स्थानीय स्रोत व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्न सुझाएका छन् । उठेका जिज्ञासा माथि संस्थाका कार्यकारी अधिकृत दीपनारायण सापकोटाले सम्बोधन गर्नुभएको थियो ।

साधारण सभामा निवर्तमान अध्यक्ष लक्ष्मी गौतम, पूर्व अध्यक्ष नारायण सापकोटा, पूर्व अध्यक्ष खेमराज सापकोटा, सामाजिक व्यक्तित्व ओमप्रसाद सापकोटा लगायतले बोल्दै विजय विकास स्रोत केन्द्र आवश्यकताले जन्माएको संस्था भएकोले अहिलेको समाजको आवश्यकता र मुद्धा बमोजिम संस्था निरन्तर अघि बढ्न झनै आवश्यक भएको बताउनुभयो ।

विजय विकास स्रोत केन्द्रले उत्कृष्ट कर्मचारी, उत्कृष्ट साधारण सदस्य र उत्कृष्ट कार्यसमितिबाट १/१ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । उत्कृष्ट कर्मचारीमा कल्पना पाख्रिन सम्मानित हुनुभएको छ । यसैगरी उत्कृष्ट सदस्यमा डा. भीमप्रसाद आचार्य र उत्कृष्ट कार्यसमिति सदस्यमा संस्था सचिव डा. भूमिराज चापागाईं सम्मानित हुनुभएको छ । यस वर्षको विजय दीर्घसेवा संस्थाका पूर्व अध्यक्ष खगराज आचार्यलाई प्रदान गरिने भएको छ ।
विजय विकास स्रोत केन्द्रले आजै विहान चेतना सदनमा संस्थागत अनुभव तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । यस कार्यक्रममा विजय परिवारका सदस्य संस्थाहरुले अघिल्लो आर्थिक वर्षमा गरेका प्रगति विवरण, आगामी कार्ययोजना तथा चुनौती र संभावनाका पक्षहरुका बारेमा संस्थागत प्रस्तुती गरेका थिए ।
विजय सामुदायिक शिक्षा सदन प्रा.ली.का कम्पनी सचिव वीरभद्र सापकोटाले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिदै अघि बढेको बताउनुभयो । एक हजार तीन सय ५१ जना विद्यार्थी अध्ययनरत विजय सामुदायिक शिक्षा सदनले परियोजनामा आधारित व्यवहारिक शिक्षा प्रणालीलाई जोड दिएको सचिव सापकोटाले बताउनुभयो ।
विजय कन्सल्टिङका कार्यकारी कालिदास गौडेलले २०७१ सालमा दर्ता भएको गैरनाफामूलक संस्थाले विजय परिवार भित्रकै विभिन्न संस्थागत क्रियाकलापहरुमा सहजीकरण गरिरहेको बताउनुभयो ।
विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष एवम् विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले रेडियोलाई प्रविधिमैत्री बनाउँदै लिएर जाने बताउनुभयो । यसैगरी विजय फाउण्डेसनले शिक्षा, स्वास्थ्य र मानवअधिकारका क्षेत्रमा काम गरिरहेको र पछिल्लो समय दैविक विपत्तिका क्षेत्रमा पनि काम गरिरहेको बताउनुभयो ।
विजय लघुवित्त वित्तिय संस्थाका नायब प्रबन्धक नारायणप्रसाद सापकोटाले लघुवित्तले ४५ जिल्लाका १३५ शाखाबाट सेवा प्रदान गरिरहेको बताउनुभयो । देशमा भइरहने विभिन्न घटनाको प्रभावका कारण वित्तीय क्षेत्र सबैभन्दा बढि प्रभावित भइरहेको अनुभव व्यक्त गर्नुभयो ।
विकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले विकूले ३ जिल्लाका २४ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको बताउनुभयो । १ लाख २६ हजार बढी शेयर सदस्यहरुमाझ विकूले गर्भदेखि स्वर्गसम्मका विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । साधारण सभामा उपाध्यक्ष खड्गजंग गुरुङले उपस्थिति अतिथि तथा सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।