नवलपुरका काँग्रेस सभापतीहरूको विशेष महाधिवेशनको पक्षमा पहल गर्न अनुरोध

२०८२ असोज २२ बुधबार २०:२३:०० मा प्रकाशित

नवलपुर, असोज २२ —
नेपाली काँग्रेस नवलपुर जिल्लाअन्तर्गत सबै स्थानीय तहका सभापतीहरूको बैठकले पार्टीभित्र विशेष महाधिवेशनको मागलाई सशक्त रूपमा अघि बढाउन र त्यसको पक्षमा पहल गर्न केन्द्रिय नेतृत्वलाई अनुरोध गरेको छ।

बुधबार कावासोतीमा सम्पन्न बैठकले नेपाली काँग्रेसमा आन्तरिक लोकतन्त्र सुदृढ पार्न, संगठनमा नयाँ ऊर्जाका साथ सुधारको मार्ग खोल्न र जनभावनाअनुरूप निर्णय लिन विशेष महाधिवेशन अपरिहार्य भएको निष्कर्ष निकालेको छ।

बैठकले नवलपुरबाट केन्द्रिय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सदस्यहरूलाई असोज २६ गते हुने केन्द्रिय बैठकमा पार्टीको वर्तमान अवस्थाबारे स्पष्ट धारणा राखी विशेष महाधिवेशनको पक्षमा उभिन आग्रह गरेको छ। साथै, जिल्लाभर रहेका महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर अभियानमा सहभागी भई परिवर्तनको पक्षमा ऐक्यबद्ध हुन अपील गरिएको छ।

बैठकमा गैंडाकोट नगरपालिका सभापति बद्री सापकोटा, देवचुलीका डिल्लीराम कडरिया, कावासोतीकी उपसभापति गोमा खण्डलुक , मध्यविन्दुका कार्यवाहक सभापति जितबहादुर थापा, बुलिङटारका ओमकुमार श्रेष्ठ, हुप्सेकोटका बलबहादुर राना, बौदीकालीका के।बी। राना र विनयीत्रिवेणीका अजीत थापा सहभागी रहेका थिए।

सभापतीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा पार्टीमा लोकतान्त्रिक मूल्य र आन्तरिक एकता मजबुत बनाउन विशेष महाधिवेशनको पहल आजको आवश्यकता भएको उल्लेख गरिएको छ।

 कार्यक्रमको संयोजन गैंडाकोट काँग्रेस नगर सभापति बद्री सापकोटाले गर्नु भएको थियो।