गैँडाकोट–डेढगाउँ र दलदले–धौवादी–बुलिङटार सडकमा रातीको समयमा सवारी नचलाउन प्रशासनको आग्रह
नवलपरासी पूर्व । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वले असोज १७ गतेदेखि २० गतेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले जिल्लामा मध्यम देखि भारी बर्षा हुने अनुमान गरेपछि प्रशासनले उच्च सतर्कता अपनाउन जिल्लाबासीलाई आग्रह गरेको हो । वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान, पहिरो, भूक्षय लगायतका विपद्जन्य जोखिमबाट सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न सबैमा अनुरोध गरेको छ ।
अत्यन्त जरुरी काम नभइ घरदेखि टाढा र रातको समयमा यात्रा नगर्नुहुन अनुरोध गरेको छ । यसैगरी पहिरोको उच्च जोखिम रहेका स्थान र नदी किनारका बासिन्दाहरु बढीको उच्च बहाव हुन लागेमा जोखिमयुक्त स्थानमा नबस्नुहुन, जोखिमयुक्त क्षेत्रका बासिन्दाले आवश्यक कागजात, सामग्री, धानमाल र औषधि सहितको झटपट झोला तयार गर्न, क्षमता भन्दा बढी यात्रु नचलाउन अनुरोध गरिएको छ । जिल्ला भित्रको कालिगण्डकी करिडोर अन्तर्गत गैँडाकोटदेखि डेढगाउँसम्म र भित्रि सडक अन्तर्गत दलदले, धौवादी बुलिङटार सडकखण्डमा सञ्चालन हुने सवारी साधन असोज १९ गतेसम्म बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म नचलाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
यसैगरी पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डमा र कालीगण्डकी करिडोरको तरङखोला आसपासमा तुरुन्त परिचालन हुनेगरि डोजर, एक्जाभेटर, लोडर तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालयलाई समेत अनुरोध गरेको छ । जिल्लाका सबै सुरक्षा निकाय, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटि लगायतका संस्था तथा नागरिकहरुलाई विपद् पूर्व तयारीमा जुट्नुहुन र आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।