चितवन कारागारबाट भागेका २ सय ३५ कैदीबन्दी फर्किए

२०८२ भदौ २९ आइतबार १४:२५:०० मा प्रकाशित

चितवन । चितवनको जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दीमध्ये २ सय ३५ जना कारागारमा फर्केका छन् । जिल्ला कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुड्डानाका अनुसार अहिलेसम्म २ सय ३५ जना कैदीबन्दी कारागारमा फर्केका हुन् । 


बुधबार दिउँसो आगजनी गरेर भागेका कैदीबन्दी जसरी पनि समातेर कारागार चलान गर्छ भन्ने भएपछि फर्कन थालेका प्रमुख ढुड्डानाको भनाइ छ । भरतपुरबाट भागेका चार जना कैदीबन्दी भारत जान लाग्दा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर भैरहवा कारागारलाई बुझाएको र कारागारबाट भागेकालाई फोन सम्पर्क गरेर फर्किन भनिरहेको कारागारका प्रमुख ढुड्डानाले बताउनुभयो ।

 

उहाँले कारागारमा नफर्की फरार भइराखे खोजी गरी नियन्त्रणमा लिने बताउनुभयो । कारागारबाट बुधबार दिउँसो ७ सय ४० जना कैदीबन्दी आगजनी गरेर फरार भएका थिए । कारागारमा रहेका ४६ महिला कैदीबन्दीमध्ये २७ जना आइसकेका छन् भने करिब ५० जना अझै सम्पर्कमा आएका छैनन् ।