गैँडाकोट नगरका राजनितीक दलको अपिल : संयमित हुन आग्रह

गैँडाकोट, २६ भदौ । भ्रष्टाचार र दुरुपयोग विरुद्ध युवाहरुले सुरु गरेको जेनजी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै गैँडाकोट नगरपालिकाका राजनीतिक दलहरुले नागरिकलाई संयमित र शान्तिपूर्ण रुपमा सहभागी हुन अपिल गरेका छन्।
भदौ २३ गतेदेखि देशभर भएको आन्दोलनका क्रममा गैँडाकोट नगर क्षेत्रमा समेत कार्यालय, सरकारी निकाय, निजी सम्पत्तिहरूमा तोडफोड र आगजनीजस्ता गतिविधि भएको भन्दै त्यसबाट जनजीवन प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “संविधान र लोकतान्त्रिक मूल्य–मान्यताबाट विचलित हुने गतिविधि स्वीकार्य छैन। आन्दोलनकारी युवाको उद्देश्यप्रति हाम्रो पूर्ण समर्थन छ तर तोडफोड, आगजनी र हिंसा हाम्रो बाटो होइन।”
नगरपालिकास्थित नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै समितिबाट जारी अपिलमा आन्दोलनलाई संयमित ढंगले अघि बढाउन र नयाँ सरकार निर्माणको प्रक्रियामा नागरिकको आवाजलाई व्यवस्थित तरिकाले प्रस्तुत गर्न सबैलाई आह्वान गरिएको छ।
नेपाली कांग्रेस नगर कार्यसमिति सभापति बद्री सापकोटा र नेकपा (एमाले) नगर समितिका सचिव राजु भुषालले हस्ताक्षर गरेको उक्त अपिलमा संविधानको रक्षा, लोकतान्त्रिक मूल्यको संरक्षण र सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको छ।
अपिलमा जनताले तोडफोड, आगजनी र हिंसात्मक गतिविधिबाट टाढा रहनु पर्ने, उच्च मनोबलका साथ आफ्नो पेशा, व्यवसाय र दैनिक जीवनलाई निरन्तरता दिनुपर्ने जोड दिइएको छ।
भ्रष्टाचारको विरुद्ध र सुशासन स्थापित गर्नुपर्छ भन्ने पक्षमा गरिएको आन्दोलनमा सहमत जनाएका छन। घुसपेटका कारण युवाहरूलाई उत्तेजित बनाई आन्दोलनले उग्ररूप लिँदा मृत्यु भएका हुनार युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत विज्ञप्तिमा गरिएको छ।
भाद्र २४ गते भएको अराजक तोडफोडकै क्रममा गैंडाकोट नगरपालिका कार्यालय, मौलाकालिका केबलकार, नगरप्रमुख मदनभक्त अधिकारीको घर तथा सवारी साधनहरु, उपप्रमुख शान्ति कोइरालाको घर, नेकपा एमालेका जिल्ला उपसचिव षडानन्द लामिछानेको सवारी साधन, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको घर, नेपाली कांग्रेस क्षेत्रीय सभापति अमृत भट्टचनको घर तथा सवारी साधन, नेपाली कांग्रेस नगर सभापति बद्री सापकोटाको सवारी साधन, नेपाली कांग्रेस पार्टी कार्यालय, नेकपा एमाले पार्टी कार्यालय, गैँडाकोट वडा नम्बर १, ४, ५, ७, ८ र ९ को वडा कार्यालयमा भएका तोडफोड तथा आगजनीमा संलग्न रहेको प्रमाण सहित भएको हुनाले आवश्यक कानुनी कारबाहीको माग गरिएको छ।
साथै जेनजीको मागअनुसार नयाँ सरकार गठन गर्ने प्रक्रियामा नेपाली सेना र राष्ट्रपतिका बीचमा छलफल चलिरहेको बुझिएको छ, अग्रगामी निकासका लागि भएका सम्पूर्ण निर्णयप्रति आफ्नो समर्थन रहेको विज्ञप्तिमा जनाइएको छ ।