गैँडाकोटमा थप दुई दिन विद्यालय बन्द हुने

गैँडाकोट । जेनजी आन्दोलनका कारण उत्पन्न विशेष परिस्थितिलाई मध्यनजर गर्दै गैँडाकोट नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय थप दुई दिनका लागि बन्द हुने भएका छन्।
नगरपालिकाले आज एक विज्ञप्ति प्रकाशित गर्दै भदौ २६ र २७ गते नगर क्षेत्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो। विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) ले निषेधाज्ञा तथा कर्फ्यु जारी गरिरहेको अवस्थाका कारण विद्यालय सञ्चालन सम्भव नभएको उल्लेख गरिएको छ।
सूचनामा भनिएको छ, “विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै नगर क्षेत्रका विद्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था २ दिनका लागि पूर्ण रूपमा बन्द गरिएका छन्।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेद्वारा हस्ताक्षरित सूचनामा भदौ २३ गतेदेखि जेनजी समूहद्वारा गरिएका आन्दोलनका कारण परिस्थिति असामान्य बनेको र सोहीअनुसार विद्यालय बन्द गर्न बाध्य भएको उल्लेख गरिएको छ।