गैँडाकोटमा सडक र सामुदायिक कुकुरलाई रेविजविरुद्ध खोप अभियान सुरु

गैंडाकोट । गैंडाकोट नगरपालिकाले नगर क्षेत्रभर रहेका छाडा तथा सामुदायिक कुकुरहरुलाई रेबीज रोगविरुद्ध खोप लगाउने अभियान सोमबार मिलनचोक, वडा नं. १ बाट सुरु गरेको छ । गैंडाकोट नगरपालिकाका पशु शाखा प्रमुख डा. प्रमोद कुमार पौडेलका अनुसार आजबाट सुरु भएको अभियानमा ४० ओटा कुकुरहरुलाई खोप लगाइएको छ ।
नगरका सबै १८ वटै वडामा सञ्चालन हुने यस अभियान करिब एक महिनासम्म चल्नेछ । नगरपालिकाले गैँडाकोटमा मात्रै दुई हजार भन्दा बढी सामुदायिक कुकुर रहेको अनुमान गरेको छ । गतवर्ष रेविजका कारण गैँडाकोटमा २ जनाले ज्यान गुमाउनुपरेको हुँदा यस वर्षको अभियानलाई अझ प्रभावकारी बनाइएको छ ।
कार्यक्रमलाई हार्ट नेपाल, रोटरी क्लब अफ गैंडाकोट र रोट्र्याक्ट क्लब अफ गैंडाकोटले सहकार्य गरेका छन् । नगरपालिकाका अनुसार यस खोप अभियानले कुकुरलाई मात्र नभई मानिसलाई समेत रेबीज रोगबाट सुरक्षित बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।