भीमबहादुर अधिकारी स्मृति ग्रन्थमाथि शनिबार चर्चा कार्यक्रम हुने

२०८२ श्रावण १६ शुक्रबार १८:३६:०० मा प्रकाशित

गैँडाकोट । जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको आयोजनामा समाजसेवा शिरोमणि भीमबहादुर अधिकारीको स्मृति ग्रन्थमाथि शनिबार चर्चा परिचर्चा कार्यक्रम हुने भएको छ। कार्यक्रम शनिबार बिहान ११ बजे गैँडाकोटस्थित होटल द नारायणीमा आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष डिल्लीप्रसाद सिग्देलले जानकारी दिनुभयो।

गृहस्थ सन्त, प्रज्ञा, श्रमशीलता, सदाचार र उच्च विचारका उपासक गण्डकी गौरव भीमबहादुर अधिकारी समाजसेवामा समर्पित एक उच्च कोटीका व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले अर्थ मन्त्रालयमा अर्थ नियन्त्रकको जिम्मेवारी सम्हाल्दै तनहुँ, दमौलीमा गाउँसेवाकोष स्थापना गरी जेहेन्दार विद्यार्थीहरूको शिक्षाका लागि पहल गर्नुभएको थियो। साथै, उहाँले विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत उल्लेखनीय योगदान दिनुभएको थियो।

कार्यक्रममा अधिकारीको जीवन र योगदान समेटिएको “समाजसेवा शिरोमणि श्री भीमबहादुर स्मृति ग्रन्थ“ को चर्चा गरिने आयोजकले जनाएको छ।