मौलिक संस्कृतिको संरक्षणका लागि शनिबार पञ्चेबाजा-नौमती विशेष कार्यक्रम हुँदै

नवलपुर । मौलिक संस्कृति संरक्षण र पञ्चेबाजा तथा नौमती बाजाको प्रवर्धन गर्ने उद्देश्यले शनिबार एक विशेष कार्यक्रम नवलपुरमा आयोजना हुने भएको छ।
कालिका फेदी नौमती बाजा समूहको आयोजनामा सो कार्यक्रम शनिबार बिहान १० बजेबाट नारायणी पार्टी प्यालेस, कालीगण्डकी चोकमा सुरु हुने कार्यक्रम संयोजक चन्द्रबहादुर परियारले जानकारी दिनुभएको छ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। वरिष्ठ लोकदोहोरी कलाकार बिनखाती, सरिता गुरुङ श्रेष्ठ, दिपेन्द्र ठकुरी, जुना डल्लाकोटी, देवी गुरुङ, एलिना परियार, जीवन परियार, चन्द्र परियार र खेम थापाले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।
संयोजक परियारका अनुसार, पञ्चेबाजा-नौमती बाजाका परम्परागत बादकहरूलाई आधुनिक संगीत तालिमद्वारा सीप अभिवृद्धि गरिने, तिनको धुन रेकर्ड गरी संरक्षण गरिने तथा औपचारिक संगीत प्रशिक्षण केन्द्रको स्थापना जस्ता दीर्घकालीन लक्ष्य राखिएको छ। यसबाट संगीतकर्मीहरूलाई रोजगारीको अवसर पनि सिर्जना हुने विश्वास गरिएको छ।
प्रवेश शुल्क निःशुल्क गरिएको यस कार्यक्रममा सांस्कृतिक धरोहर जगेर्ना र स्थानीय समुदायमा चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। आयोजकले सांगीतिक र सांस्कृतिक चासो राख्ने सबैलाई उपस्थित भइ कार्यक्रम सफल पार्न आग्रह गरेको छ।