कञ्चनपुरमा छाउगोठ भत्काउने अभियान जारी

२०८२ श्रावण ९ शुक्रबार १६:०२:०० मा प्रकाशित

कञ्चनपुर । कृष्णपुर नगरपालिका-१ मा छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइएको छ । गत साता महिनावारी भएका बेला छाउगोठमा बस्न गएकी २८ वर्षीया कमला दमाईं (आउजी) को सर्पदंशका कारण मृत्यु भएपछि छउगोठ भत्काउन सुरु गरिएको हो ।


वडाको निगाली र दोमिल्लाको श्रीपुर टोलमा रहेका छाउगोठ भत्काउने कार्य हुन थालेको कृष्णपुर-१ का वडाध्यक्ष मोहन बस्नेतले बताउनुभयो । उहाँका अनुसार दुवै ठाउँमा गरी हालसम्म १५ वटा छाउगोठ भत्काइएका छन् । छाउगोठ भत्काउनका लागि समिति गठन गरेर परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।


समितिले समुदायमा महिनावारीका बारेमा सचेतना फैलाउने काम गरिरहेको वडाध्यक्ष बस्नेतले बताउनुभयो । स्थानीय स्वस्फूर्त रूपमा छाउगोठ भत्काउने अभियनमा संलग्न भइरहेका जनाउँदै उहाँले छाउगोठ भत्काउन अटेरी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने उल्लेख गर्नुभयो । पहरीया क्षेत्रमा पनि छाउगोठ भत्काउन सुरु गरिने उहाँको भनाइ छ । रासस