भरतपुर आँखा अस्पतालबाट तीन लाख बढीले लिए सेवा

चितवन । भरतपुर आँखा अस्पतालमा गत आर्थिक वर्ष २०८१-८२ मा तीन लाख २० हजार ६४८ जनाले सेवा लिएका छन् । जसमध्ये ११ हजार ३४९ जनाको शल्यक्रिया गरिएको हो । तिनीहरूमध्ये चार हजार १३५ जनाको ‘फेको’ (मेसिन) प्रविधिबाट शल्यक्रिया गरिएको छ ।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार अघिल्लो आर्थिक वर्षमा तीन लाख ५३ हजार ३९७ जनाको आँखा उपचार गरिएको थियो । उक्त वर्ष ११ हजार ३२४ जनाको शल्यक्रिया गरिएको थियो । तीमध्ये चार हजार ३१२ जनाको फेको प्रविधिबाट शल्यक्रिया गरिएको हो ।
नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गरेको यस अस्पताल मातहत चितवनसहित आठवटा जिल्लाका २५ ठाउँमा अस्पताल र आँखा उपचार केन्द्र सञ्चालनमा छन् । गत आर्थिक वर्षमा अस्पतालबाहिर बाह्य क्याम्प (शिविरमार्फत) ४० हजार ९३३ जनाको उपचार गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ४२ हजार ८९४ रहेको थियो ।
अस्पतालका कार्यवाहक अध्यक्ष तेजेन्द्र खड्काका अनुसार अघिल्लो वर्ष आँखा पाक्ने समस्याले बिरामीको उच्च चाप भएकामा गत वर्ष यो समस्या कम रहेको थियो । यस्तै, अन्य सरकारी र निजी क्षेत्रका अस्पतालहरूले पनि आँखाको सेवा विस्तार गरेसँगै बिरामीको सङ्ख्या केही घटेको हो । यद्यपि अस्पतालाले क्षेत्रसँगै सेवा विस्तार गर्दै गएको उहाँले बताउनुभयो ।
सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा विभिन्न जिल्लाका पालिकाहरूमा आँखा सेवा पु¥याइएको उहाँले बताउनुभयो । विभिन्न दातामार्फत प्राप्त हुने उपकरण र सहयोगका कारण सुलभ शुल्कमा उच्चस्तरको आँखाको उपचार दिन सकिएको उहाँ बताउनुहुन्छ ।
अस्पतालको भरतपुरमा सबैखाले उपचार हुने आँखाको टर्सरी अस्पताल छभने भरतपुर हाइटमा सिटी क्लिनिक सञ्चालनमा छ । पर्साको ठोरी र नवलपरासीको कावासोतीमा शल्यक्रिया सेवासहितको अस्पताल छ भने २१ ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।
विक्रम संवत् २०४४ चैत १८ गते भरतपुरमा स्थापना भएको यस आँखा अस्पतालले सेवा विस्तार गर्दै आठवटा जिल्लामा पुगेको हो । चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) पर्सा, बारा, धादिङ, सिन्धुली, तनहुँ र सर्लाहीमा अस्पताल र क्याम्पमार्फत सेवा दिँदै आएको छ । रासस