आज साउन महिनाको पहिलो सोमबार, भगवान शिवको विशेष दिन

२०८२ श्रावण ५ सोमबार ०७:२४:०० मा प्रकाशित

आज २०८२ साल साउन ५ गते सोमबार। साउन कृष्ण पक्षको एकादशी तिथि। कामीका एकादशी व्रत। तदनुसार सन् २०२५ जुलाई २१ तारिख। साउन महिनाको पहिलो सोमबार भएकाले आज व्रतालुका लागि अझ विशेष दिन हो । साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ। सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।
धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजबाट बोलबम मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । धर्मशास्त्रअनुसार वर्षकै पवित्र महिना साउन र त्यसमाथिको पनि पवित्र दिनको रुपमा सोमबारलाई लिइन्छ । त्यसैले बिहान ४ बजेदेखि नै स्नान गर्न भक्तजनहरु देवघाटधाम आइपुगेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार साँझ आएका भक्तजनहरुले बिहान ४ बजे स्नान गरी शिवको पूजा गरी जल लिएर गएको र बिहान आएका भक्तजनहरुको अहिले देवघाटमा घुइँचो छ ।


देवघाटसँगै चितवनको भरतपुरस्थित महाकालेश्वर मन्दिर,कैलाशनाथ महादेव मन्दिर, गैंडाकोटको गोपेश्वर मन्दिर, माडी, कालिका, रत्ननगरलगायत क्षेत्रका शिवालयहरुमा पनि सोमबारे मेला अर्थात् बोलबम मेलामा भक्तजनहरु पूजाआजामा व्यस्त छन् । यो मेलालाई बोल ओम मेलाको रुपमा समेत मनाइन्छ । महिला तथा पुरुष व्रतालुहरु पहेंलो वस्त्र धारण गरी खाली खुट्टा स्नानका लागि देवघाट आएका छन् । चितवन, तनहुँ र नवलपरासीको संगमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत झक्तजनहरु मेला भर्न आउँछन् ।