श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमद्वारा बृहत मोटरसाइकल र्याली

गैँडाकोट। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम, गैँडाकोट–७ शितलनगर गैरीको आयोजनामा शनिबार बृहत मोटरसाइकल र्याली भएको छ ।
श्रावण महिनाका सोमबारहरूमा आयोजना हुने बोलबम महोत्सव तथा धार्मिक अनुष्ठान कार्यक्रमको सफलताको कामना गर्दै र्याली निकालिएको हो ।
धार्मिक र्यालीका माध्यमबाट सनातन धर्म र हिन्दू संस्कृतिको प्रवद्र्धन तथा संरक्षण गर्दै गैँडाकोट नगरका विभिन्न मठमन्दिरहरुको दर्शन गराइएको आश्रमका अध्यक्ष डिलाराम सापकोटाले जानकारी दिनुभयो ।मोटरसाइकल र्याली मन्दिरबाट सुरु भई पूर्व–पश्चिम राजमार्ग हुँदै गैँडाकोट–९ स्थित हनुमान मन्दिर, गैँडाकोट–१३ को कैलाश सन्यास आश्रम, अमरापुरी र भेल्लनटाँडीको राधाकृष्ण मन्दिरसम्म पुगेर पुनः विभिन्न धार्मिक स्थल हुँदै मन्दिरमै समापन गरिएको थियो ।
र्यालीको मार्गमा पितौँजीको कोटिहोम मन्दिर, कोटेश्वर शिवालय, मौलाकालिका फेदी, गोपेश्वर मन्दिर, महादेव भर्याङ मन्दिर, सिताराम मन्दिर, कालिका मन्दिर, शिवनगर लगायतका प्रमुख धार्मिक स्थलहरू समेटिएका थिए। मन्दिरका सह–सचिव भानु सापकोटाका अनुसार पछिल्लो समय मन्दिरले धार्मिक जागरण र सामाजिक सद्भाव प्रवद्र्धनमा निरन्तर क्रियाशील भूमिका खेलिरहेको छ। हरेक सोमबार मन्दिर परिसरमा सामूहिक सन्ध्या आरती तथा अन्य आध्यात्मिक क्रियाकलाप पनि नियमित रूपमा भइरहेको बताइएको छ ।
नेपालकै ठूलो परमेश्वर महाशिवलिङ स्थापना गरिएको यस मन्दिरमा नर्मदेश्वर नदिका १०८ शिवलिङ पनि रहेका छन्। मेला, पर्व र उत्सवहरूलाई आध्यात्मिक पर्यटनसँग जोड्दै आश्रमले धार्मिक गतिविधिहरूको व्यापकता बढाइरहेको आयोजकले जनाएको छ ।