गैँडाकोटमा महिलाहरूका लागि दुई दिने प्राथमिक उपचार तालिम सुरु

गैँडाकोट । गैँडाकोट नगरपालिकाको आयोजना तथा जनकल्याण महिला समूहको सहकार्यमा महिलाहरूका लागि दुई दिने प्राथमिक उपचार तालिमको बिहीबार शुभारम्भ गरिएको छ । गैंडाकोट ४ पुरानो सहजमा सञ्चालन भएको तालिममा प्रशिक्षकहरुले दुर्घटना भएको समयमा अस्पताल पु¥याउनु अगावै घरमै कसरी उपचार गर्ने भन्ने बारेमा प्रशिक्षण गराएका थिए ।
दुई दिन सञ्चालन हुने तालिममा पहिलो दिन (बिहीबार) भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. नवराज लामिछानेले नाडी, पल्स, ब्लड प्रेसर, श्वासप्रश्वास जस्ता भाइटल साइन्सका बारेमा प्रशिक्षण दिनुभयो ।
विद्यालय नर्स अस्मिता अधिकारीले सामान्य चोटपटकको प्राथमिक उपचार र रोकथामबारे जानकारी दिनुभयो । उरक्त्तश्राव हुने कारण, रोक्ने उपायहरु, सामान्य चोटपटक लाग्दा के गर्ने, घरमा हुनुपर्ने प्राथमिक उपचारका साधनहरुको बारेमा जानकारी गराउनुभयो ।
सहज स्वास्थ्य क्लिनिककी प्रोपाइटर तथा कार्यक्रम संयोजक नर्स भागीरथी पोखरेल आचार्यले परीक्षण उपकरणको प्रयोग र अभ्यास गराउँदै व्यवहारमा कसरी परीक्षण गर्ने भन्नेबारे सिकाउनुभयो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, गैँडाकोट वडा नं ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरेले नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
कार्यक्रमको समापनमा जनकल्याण महिला समूहकी अध्यक्ष लक्ष्मी पोखरेल लामिछानेले ग्याँस विस्फोट, सर्पको टोकाइ, महिनावारीको समस्या, सामान्य चोटपटक जस्ता समस्या सामना गर्न तालिम आवश्यक रहेको बताउनुभयो ।
उपाध्यक्ष राधिका कंडेलले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने सचिव रिता पौडेल तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो । शुक्रबार तालिमको दोस्रो दिन प्रशिक्षक अस्मिता अधिकारी र भागीरथी पोखरेल आचार्यले महिनावारी समस्या, सर्पदंश, पानीमा डुब्दा गर्ने उपचार, मानसिक स्वास्थ्य र विद्युत् जोखिमबारे प्रशिक्षण दिनुहुनेछ।