चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी सार्वजनिक

चितवन, भदौ २२ । एभरेष्ट प्रिमियिर लिग (इपीएल)को फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीहरुलाई सार्वजनिक गरेको छ । मंगलबार भरतपुरस्थित होटल सिराइँचुलीमा कर्पोरेट हाउस, पत्रकारहरुको उपस्थितिमा औपचारिक रुपमा खेलाडी सार्वजनिक गरेको हो ।
ट्यालेन्ट हन्टबाट कृजन गुरुङ, संघर्ष पौडेल, राजेश ढकाल, आकाश थापा र गौतम केसी छनौट भएका छन् । ट्यालेन्ट हन्टबाट छानिएका गौतमलाई यसअघि नै चितवनले ५० हजार रुपैयाँमा अनुबन्ध गरि सकेको छ । बाँकी चार खेलाडीबाट अन्तिममा एक खेलाडीलाई चितवनले अन्तिम टिममा समावेश गर्नेछ ।
छनोट भएका खेलाडीहरुलाई चितवन टाइगर्सका प्रमुख किशोर भट्टराईले टाइगर्सको क्याप प्रदान गर्दै स्वागत गर्नुभएको थियो । सो क्रममा बोल्दै भट्टराईले युवा खेलाडीहरुलाई टिमलले प्राथमिकतामा राखेको भन्दै युवा खेलाडीहरुलाई सिक्ने अवसर मिलेको बताउनुभयो । उहाँले इपीएल सबै भन्दा ठूलो क्रिकेट प्रतियोगिता भएकाले युवा खेलाडीहरुलाई विदेशी खेलाडीहरुबाट सिक्ने मौका मिल्ने बताउनुभयो ।
चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट आउँदो असोज ९ गतेदेखि काठमाडौँस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । चितवन टाइगर्सको मुख्य प्रायोजक ‘प्रभु पे’ रहेको छ । यसका लागि चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले सम्झौता पत्रमा हस्ताक्षर गरि सकेका छन् । यस्तै एसोसियट स्पोन्सरमा सिल्क ग्रुप रहेको छ ।