मध्यविन्दु–१० पूर्ण किसान सदस्य वडा घोषित

गैंडाकोट । गैंडाकोट नगरपालिका वडा न.८ मा केन्द्रिय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था लि.ले सोमबार मध्यविन्दु नगरपालिका १० भूपू सैनिकको सभाहलमा एक कार्यक्रम आयोजना गरि मध्यविन्दु नगरपालिका वडा न. १० लाई पूर्ण किसान सदस्य वडा घोषणा गरेको छ । वडा नं.१० मा कुल १ हजार ५ सय ५६ घरधुरीमध्ये ९६.२ प्रतिशत घरधुरी संस्था सदस्य भइसकेकाले सो वडालाई पूर्ण सदस्य वडा घोषित गरिएको हो ।
किसान बचत तथा ऋण सहकारी संस्था लि.को प्रस्ताव एवं मध्यविन्दु नगरपालिका वडा न. १० का वडा अध्यक्षको सिफारीसमा नगर प्रमुखद्धारा पूर्ण वडा घोषणाको अभिलेख किसान साकोसका अध्यक्षलाई हस्तान्त्रणा गरिएको थियो । उक्त कार्यक्रममा वडाभित्रका आठ वटा टोल विकास संस्थाहरुलाई डस्बीन हस्तान्तरण गरीएको थियो भने सोहि अवसरमा बि.पि कोईराला क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोगमा २ सय २६ जना महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क परिक्षण समेत गरीएको थियो ।
कार्यक्रममा उपस्थित अतिथीलाई शब्द गुच्छाद्धारा स्वागत गर्दै आरुणखोला सेवाकेन्द्र संयोजक बिन्दु कुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा संस्थागत जानकारी प्रस्तुत गर्दै सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखिएको कुरा प्रमुख कार्यकारी अधिकृत सन्जयराज तिमिल्सिनाले बताउनुभएको थियो भने सदस्यहरुलाई उद्यमी बनाउन किसानले गरेको प्रयासको प्रशंसा गर्दै किसान जस्तो समुदायमा आधारीत सहकारीहरु उत्पादनसंग जोडिनुपर्ने र नगरपालिकाले सहकार्य गर्न सक्ने कुरा प्रमुख अतिथी एवं मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । वर्तमान परिवेशमा हल्लाको पछाडी नलागी आफ्नो सहकारीमा अपनत्व प्रधान गर्न सदस्यहरुलाई सुझाव समेत अधिकारीले दिनुभएको थियो ।
यसैगरी, संस्थाको सबल पक्षहरुको सराहना गर्दै पूर्ण वडाको रुपमा वडा नं.१० घोषण भएकोमा खुशी व्यक्त गर्दै सम्बन्धित सबैलाई वडा नं.१० का वडा अध्यक्ष रण बहादुर थापाले धन्यवाद दिनुभएको थियो भने उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिव सरस्वती कंडेलले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष भोजराज पौडेल, नेफस्कून सञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतम, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष तिलकप्रसाद पराजुली र मध्यविन्दु नगरपालिका वडा न. १० का वडा अध्यक्ष रण बहादुर थापा, विभिन्न वडाका वडाध्यक्ष, संघ संस्थाका प्रतिनिधी, वडाका जनप्रतिनिधी, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधी, सञ्चालक समिती, विभिन्न उपसमितिका पदाधिकारी, शेयर सदस्य र कर्मचारी सहितको उपस्थिती रहेको थियो ।