नगरको विकासमा सहकार्य र खबरदारी जरुरी रहेको गैडाकोटका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूको भनाइ
विकासमा सहकार्य र खबरदारी जरुरी

गैँडाकोट । गैंडाकोट नगरपालिकामा विकासका कार्यक्रमहरू भएतापनि यो अझै कम भएको विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् । विजय एफएम १०१ दशमलब ६ ले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको विजय संवाद कार्यक्रममा बोल्दै गैडाकोट नगरपालिकाका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले गैंडाकोट नगरपालिकामा विकास भएता पनि सन्तोषजनक रुपमा नभएको बताएका हुन् ।
गैंडाकोट नगरपालिका विकासतर्फ उन्मुख रहेको नेपाली कांग्रेसका नगर सभापति बद्री सापकोटाले बताउनुभएको छ। नेपाली कांग्रेसले बनाएको घोषणापत्र अनुसार नै गैडाकोट नगरपालिकालाई विकास गराउने क्रममा अगाडि बढिरहेको उहाँको भनाइ रहेको छ। नगरपालिकाले शिक्षालाई निःशुल्क बनाउनका लागि काम गरिरहेको कक्षा १ देखि ५ सम्म निःशुल्क भइरहेको र कक्षा ८ सम्मका लागि पनि यो प्रक्रिया अगाडि बढाउनुले शिक्षामा विकासका काममा अगाडि बढेको देखिएको उहाँले बताउनुभयो । कृषि, रोजगारी लगायत अन्य क्षेत्रमा पनि नगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले मकै पकेट क्षेत्र बनाएर लगायतका अन्य कामहरुमा पनि नगरपालिकाले काम गरिरहेको र यसलाई जोगाई राख्नका लागि नगरपालिकाले अझै काम गर्नुपर्ने उहाँले बताउनुभएको छ। नागरिकले नेपाली कांग्रेसको घोषणापत्रलाई विश्वास गरेर बहुमत दिएको हुनाले सोही अनुसार नै काम गर्नुपर्ने पनि बताउनुभएको छ।
नेकपा एमाले गैंडाकोटका नगर अध्यक्ष कृष्ण कँडेलले उद्यमीलाई नगरपालिकाले साथ सहयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले कर छुट लगायत उद्यमीलाई प्रोत्साहन गर्ने काममा नगरपालिका ले काम गर्नुपर्ने बताउनुभएको छ उहाँले उद्योगी व्यवसाय र अन्य विभिन्न निकायहरूसँग समन्वय सहकार्य छलफल गरेर नगरपालिकाले योजना बनाउनुपर्ने बताउनुभएको छ। उहाँले भएका कामहरूलाई देख्नुपर्ने र सकारात्मक तवरले त्यसलाई लिनुपर्ने पनि बताउनुभएको छ। अहिले पछिल्लो समय सामाजिक सञ्जाललाई लिएर भइरहेका टिक्काटिप्पणीलाई उहाँले सामाजिक सञ्जालमा भएका कामलाई पनि नदेख्ने र गल्ती नभएको गल्तीलाई पनि औलाइदिने बानीले समाजमा नकारात्मकता बढेको बताउनु भएको छ सबैले चाहेजस्तो विकास नभएपनि विकासको काममा नगरपालिका अगाडि बढेको उहाँको बुझाइ रहेको छ।
नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रकाश अधिकारीले राजनीतिक दलको हिसाबले सहयोग गर्ने स्थानमा सहयोग गरेको र आलोचनात्मक सुझाव दिने स्थानमा सोही अनुसारको कार्य गरेर अगाडि बढेको बताउनुभएको छ। गैंडाकोटको विकासका लागि आफूहरूले आफ्नो ठाउँबाट सक्दो पहल र सहयोग गर्ने बताउनुभएको छ। उहाँले सुशासन स्थापना गर्न पारदर्शिता कायम गर्न र विकास गर्नका लागि माओवादीले साथ सहयोग गर्ने बताउनुभएको हो। अहिलेको अवस्थामा गैंडाकोट नगरपालिकाका हरेक कामहरूमा जोडिने अवस्था नगरपालिकाले बनाएकोमा उहाँले नगरपालिकालाई धन्यवाद दिनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी गैंडाकोटका सभापति बिमल घिमिरेले पहिले र अहिलेमा फरक भएतापनि चित्त बुझाउने ठाउँ नभएको बताउनुभएको छ। उहाँले सामान्य विकास र पूर्वाधार मात्र नभएर गुणस्तरको कुरासँग पनि जोडिएर विकासलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ। अहिलेको विकासले नपुगेको अहिलेको विकासले आकांक्षा पूरा गर्न नसक्ने भएतापनि विकास सुस्त गतिमा भएको भने उहाँले बताउनुभएको छ। नगरपालिकाको विकासमा सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको उहाँको भनाइ छ।
कार्यक्रम विजय संवाद गणतन्त्र दिवसको अवसरमा संवाद कार्यक्रम प्रसारण भएको थियो। गैंडाकोटका विभिन्न राजनीतिक दलका प्रतिनिधिले गणतन्त्र यसको महत्व र गैंडाकोट नगरपालिकामा राजनीतिक दलको भूमिकाका विषयमा आफ्ना विचारहरु व्यक्त गर्नुभएको थियो। उहाँहरुले विकसित बनाउनका लागि सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने र आफूहरुले साथ सहयोगसँगै खबरदारी गर्ने र आलोचनात्मक सुझाव पनि दिने बताउनुभएको छ।