गैँडाकोटका १४ विद्यालय, जहाँ एकसय भन्दा कम विद्यार्थी, अस्तव्यस्त भर्ना अभियानले अब के होला ?

नवलपरासी पूर्व । नेपाल सरकारको तथ्याङ्क अनुसार नेपालमा २७ हजार ९ सय ९० सामुदायिक विद्यालय छन् । १५ हजार ९६५ विद्यालयमा एकसयभन्दा कम विद्यार्थी छन् । जुन कुल विद्यालयको आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या १ सय भन्दा कम हुन् । यता गँैडाकोट नगरपालिका भित्रको सामुदायिक विद्यालयको अवस्थापनि उस्तै उस्तै देखिन्छ ।
गँैडाकोट शिक्षा शाखाका अनुसार गँैडाकोट नगरपालिकामा ३५ सामुदायिक विद्यालय रहेका छन् । ३५ सामुदायिक विद्यालयमध्ये १४ वटा सामुदायिक विद्यालयमा एकसय भन्दाकम विद्यार्थी रहेका छन् । ८ विद्यालयमा त झन् ५० भन्दा कम विद्यार्थी छन् ।
बैशाख २ गतेबाट भर्ना अभियानका लागि विद्यालयहरु खुल्नुपर्ने हो । काठमाण्डौँमा जारी शिक्षकहरुको आन्दोलनका कारण भर्ना अभियान अस्तव्यस्त रहेको छ । अघिल्लो वर्ष नै विद्यार्थी संख्या कम भएका विद्यालयमा अब झन् के हालत हुने हो ?
गँैडाकोटको पहाडी क्षेत्रमा भौगोलिक विकटताका कारण समुदायमा बालबालिकाको संख्या कम हुँदै जाँदा विद्यार्थीको संख्या पनि कम हुँदै गएको छ । पहाडी क्षेत्रका अभिभावक राम्रो सामुदायिक विद्यालय वा संस्थागत विद्यालय खोज्दै तल्लोभेगमा बसाइ बस्ने गरेको देखिन्छ ।
एकसय भन्दा कम विद्यार्थी भएका १५ सामुदायिक विद्यालयमा कुल सातसय ८६ विद्यार्थीमात्र रहेका छन् । यी विद्यार्थीका लागि सरकारले ६२ जना शिक्षक परिचालन गरेको छ । यो तथ्याङ्क हेर्दा एकजना शिक्षकको भागमा करिब १२ जना विद्यार्थी पर्दछन् ।
नेपालको शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर १ शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर १ शिक्षक र तराई तथा उपत्यकामा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने व्यवस्था गरेको छ ।
शिक्षा नियमावलीको नियम ७७ बमोजिम सामुदायिक विद्यालयको प्रत्येक कक्षामा विद्यार्थीसँख्या तराईमा ५०, पहाडमा ४५ र हिमालमा ४० भन्दा कम भएको अवस्था भएमा विद्यालय मर्ज आवश्यक देखिए गर्न सकिने स्पष्ट उल्लेख गरिएको छ । गैँडाकोटका केही बाहेक अधिकांश विद्यालयका प्रत्येक कक्षाकोठमा ५० भन्दा कम नै विद्यार्थी रहेका छन् । यसको आधारमा गँैडाकोटमा नजिकका विद्यालय मर्ज गर्नुपर्ने देखिएको सरोकारवाला बताउँछन् । यसका लागि गँैडाकोट नगरपालिकाले विद्यालयको अवस्था अध्ययन गर्न कार्यदलपनि गठन गरेको थियो ।
गत बैशाख १३ गते बसेको १५ औँ नगरकार्यपालिकाको बैठकले नगरभित्रका शैक्षिक गतिविधि नियमन, नियन्त्रण, सुझाब तथा सहजीकरणका लागि नगरस्तरीय “विद्यालय शिक्षा संरचना व्यवस्थापन तथा शैक्षिक सुधार सुझाव कार्यदल” गठन गरेको थियो ।
यस कार्यदलमा नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाईं संयोजक रहनुभएको छ भने सदस्यहरुमा नगर शिक्षा समिति सदस्य दोलराज पाण्डे, विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशव सापकोटा, शिक्षाक्षेत्रका पूर्व उपसचिव गोपालप्रसाद भण्डारी, गैँडाकोट ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदी रहेका छन् । यस कार्यदलले अध्ययन गरेर प्रतिवेदन तयार गरिसकेको छ । कार्यदलले अध्ययन गरेर तयार गरिसकेको प्रतिवेदन कार्यान्वयनका लागि गैँडाकोट नगरपालिकाको ९ औँ कार्यपालिका बैठकले १५ सदस्यीय समिति गठन गरेको नगर शिक्षा अधिकारी बालकृष्ण चापागाईं बताउनुहुन्छ ।
कार्यदलको प्रतिवेदनमा विद्यार्थीसंख्या न्यून भएका विद्यालयहरुलाई मर्जको सन्दर्भमा विकल्पहरु प्रस्तुत गरेको बताउनुभयो । पहाडी क्षेत्रमा भौगोलिक समस्या हुन्छ, त्यहाँ मर्जमा गइहाल्न सकिदैन । तर कुनै विद्यालयमा कक्षा ६ मा विद्यार्थीकम छन्, हिँडेर नजिकको अर्को विद्यालयमा जान सक्छन् भने डाउन साइजिङ गर्न सकिने सुझाब कार्यदलले दिएको नगर शिक्षा अधिकारी डा. चापागाईं बताउनुहुन्छ । तल्लो भेगका विद्यालयहरुमा विद्यार्थी संख्या कम छन्, नजिकमा अर्को विद्यालय छ भने त्यस्ता विद्यालय मर्जमा जान सक्ने गरि सुझाब दिएको छ । यसलाई नीतिगत, व्यवहारिक, सामाजिक सबै पक्षबाट कसरी सान्दर्भिक बनाउन सकिन्छ भनि पछि गठन भएको समितिले काम गरिरहेको नगर शिक्षा अधिकारी डा. चपागाईंले बताउनुभयो ।
गैँडाकोट नगरभित्रका विद्यार्थी सँख्या न्यून भएका विद्यालयहरू नजिकको विद्यालयमा समायोजन हुन सक्ने, विद्यार्थीसँख्या न्यून रहेको खण्डमा विद्यालयको तह घटाउन सकिने लगायतका थुप्रै सुझाब अध्ययन कार्यदलबाट प्राप्त भएको र नियम संगत तवरबाट अघि बढ्न सकिने गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो ।