टोलबासीलाई अभिमुखीकरण : टोलबासीले थाहा पाउनै पर्ने कुरा

२०८१ चैत २८ शुक्रबार १७:१४:०० मा प्रकाशित


नवलपरासी पूर्व । “गैँडाकोट नगरपालिकाका क्षेत्रमा भौगोलिक तथा सामाजिक सामिप्यताको आधारमा टोल तथा बस्तीका बासिन्दाको आमभेलाबाट टोल तथा बस्ती भित्रका घरधुरी समावेश हुने गरी टोल विकास संस्थाको गठन हुनेछ ।” यस्तै जानकारी शुक्रबार दिउँसो जयश्री वनको बालउद्यानमा टोलका प्रतिनिधिलाई गैँडाकोट नगरपालिका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम दिदै हुनुहुन्थ्यो । गैँडाकोट वडा नं. ४ का ७ वटा टोल, टोल अन्तर्गतका बालक्लब, महिला समूहका प्रतिनिधिहरु चैतको गर्मी छल्दै टोल विकास संस्थाको बारेमा जानकारी लिँदै थिए । वडा कार्यालयले उनिहरुलाई भेला गराएको थियो । 


जनप्रतिनिधि नहुँदै गर्दा तत्कालिन समयमा विकासका साना क्रियाकलाप गर्न टोल विकास संस्थाको अवधारणा सुरु भएको देवेन्द्र गौतमले बताउनुभयो । गौतमले भन्नुभयो “टोल विकास संस्थालाई मिनी वडाको रुपमा लिन सकिन्छ । वडाले गर्ने विभिन्न गतिविधिमा टोलले सहजीकरण गर्दछ । आफ्ना टोलभित्रका तथ्यांक संकलन, योजना तर्जुमा, योजनाका लागि बजेटका लागि समन्वय र सम्बन्धित निकायमा सूचित गर्नु टोलको कर्तव्य हो । गैँडाकोट नगरपालिकामा १४१ टोल विकास संस्था छन् ।” 


टोल विकास समितिको सदस्यसंख्या बारेमा गौतमले भन्नुभयो “टोल विकास संस्थामा एकजना अध्यक्ष, एकजना उपाध्यक्ष, एकजना सचिव,  एकजना कोषाध्यक्ष र सदस्यहरु तीन देखि सातजनासम्म रहन्छन् । समिति ७ देखि ११ सदस्यसम्मको हुने गर्दछ ।” टोल विकास समितिको कार्यविधि गठन भएको मितिले दुई वर्षको हुने गर्दछ । 


कार्यक्रममा महिलाहरुको उपस्थिति पनि राम्रो थियो । अभिमुखीकरण भइरहेको कार्यक्रमको मञ्चमा महिला भन्दा पुरुष अतिथि धेरै थिए । मञ्चको आडैमा किचन थियो । किचनमा खाजा पाक्दै थियो । किचनमा पुरुष भन्दा महिलाहरुको व्यस्तता धेरै देखिन्थ्यो । 


उता अभिमुखीकरण गरिरहुनभएका गौतमले महत्त्वपूर्ण कुरा छुटाउनुभयो कि जस्तो लाग्यो ।  । टोल कार्यसमितिमा अध्यक्ष, सचिव वा कोषाध्यक्ष मध्ये कुनै एक पदमा अनिवार्य रुपमा महिला हुनुपर्ने प्रावधान रहेको छ । यति मात्र होइन, टोल विकास संस्था गठन गर्दा कार्यसमितिमा कम्तिीमा ५० प्रतिशत महिला सदस्य हुनुपर्ने पनि प्रावधान रहेको छ । यो कुरा अझ जान्नु आवश्यक छ । 


टोल विकास संस्था गठन गर्दा सो क्षेत्रका कम्तिमा ८० प्रतिशत घरधुरी सहभागि गराई गठन गर्न सकिने प्रावधान टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि २०७९ मा रहेको देवेन्द्र गौतमले बताउनुभयो । गौतमले भन्नुभयो “ कार्यविधिमा जे भएपनि भौगोलिक अवस्थामा विकट रहेका स्थानमा वडाको निर्णय अनुसार ४० घरधुरी समेटेर पनि टोल विकास संस्था गठन गर्न सकिन्छ ।” टोल विकास संस्थाको नविकरणका लागि लेखापरीक्षण जरुरी नभएको तर सन्तुलित र नियमसंगत लेखा प्रणालीमा लेखा राखेको र सो आयव्ययलाई साधारणसभाले अनुमोदन गरेको हुुनुपर्ने गौतमले बताउनुभयो । 


अभिमुखीकरणमा बालमैत्री स्थानीय शासनका बारेमा पनि गौतमले संक्षिप्त जानकारी दिनुभयो । बालक्लबहरुको समायवधि २ वर्षको हुन्छ । १८ वर्ष उमेर पुगेपछि बालक्लबका पदाधिकारीको सदस्यता स्वतः खारेज हुने गर्दछ, गौतमले भन्नुभयो । अहिले टोल स्तरमा र विद्यालय स्तरमा गरेर दुई प्रकृतिको बालक्लब गठन भइरहेको छ । 

टोल विकास संस्थाका काम कर्तव्य र अधिकार


देवेन्द्र गौतमले गठनविधिका सन्दर्भमा प्रष्ट पारेपछि टोल विकास संस्था र योजनाका सन्दर्भमा पालिकाका योजना शाखा प्रमुख लिलाधर शर्माले बताउनुभयो । लिलाधर शर्माले भन्नुभयो “ योजनाको नाम लेख्दा नै उपभोक्ता समितिले धेरै गल्ती गर्ने गर्नुभएको छ । योजनाको नाम लेख्दा जुन शिर्षकमा बजेट छुट्टीएको हो त्यस नाम र नामको पछि उपभोक्ता समिति लगाउँदा उत्तम हुने छ ।”  

उपभोक्ता समितिले एककरोड सम्मका योजनामा काम गर्नुपर्ने उहाँले बताउनुभयो । ठूलो रकमका योजनामा उपभोक्ता समिति मार्फत गर्दा सुशासन तथा अन्य कानुनी अड्चन आउन सक्ने आँकलन गर्नुभयो । एक करोड बढीका योजनामा बोलपत्र मार्फत नै काम गर्दा उपयुक्त हुने शर्माले बताउनुभयो । सम्झौता नगरिकनै काम गर्ने र पछि भुक्तानी माग्न जाने परिपाटिका कारण दुःख भोग्नु परिरहेको समेत शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो “ सम्झौता पश्चात योजना सञ्चालन गर्नुपर्दछ । योजना पूर्वको, योजना भइरहेको र योजना सम्पन्न पश्चातको तीन वटा अवधिको फोटोपनि सुरक्षित राख्नुपर्ने शर्माले बताउनुभयो  । योजना ढिलो सम्पादन गर्ने परिपाटी रहेको बताउँदै शर्माले भन्नुभयो “ योजना समयमै सम्पादन गर्ने उपभोक्ता समितिलाई रिवार्डको पनि व्यवस्था गर्नुपर्ने छ ।” योजनाको जानकारी दिने सूचना बोर्ड राख्नुपर्ने र योजना सम्पादन भएपछि स्थानीय पत्रपत्रिका वा ठूलो भेलामा आर्थिक विवरण सार्वजनिक गर्नुपर्ने समेत उहाँले बताउनुभयो । 
वडा अध्यक्ष तेजप्रसाद घिमिरेले वडालाई समृद्ध बनाउन टोल विकास संस्था क्रियाशील र रचनात्मक हुन आवश्यक रहेको बताउनुभयो । टोल विकास संस्थाले आफ्नो काम कर्तव्य र अधिकारका बारेमा जानकार हुन आवश्यक रहेको हुँदा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

वडा अध्यक्ष घिमिरेले भन्नुभयो “टोल विकास संस्थाको अवधारणा के हो ? बालक्लबको अवधारणा के हो ? महिला समूहको अवधारणा के हो ? स्पष्ट पार्न आवश्यक रहेको छ ।” समृद्ध वडा र समृद्ध नगर स्थापित गर्न टोलबासी सचेत हुनुपर्ने वडा अध्यक्ष घिमिरेले बताउनुभयो । कार्यक्रममा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले टोल विकास संस्थालाई रचनात्मक कार्यमा अघि बढ्न सुझाब दिदै नयाँ वर्षको शुभकामना दिनुभयो ।


अन्तक्रिया भनिएको कार्यक्रममा करिब १ सय बढीको सहभागिता थियो । एकजनाले मात्रै आफ्नो जिज्ञासा राख्नुभयो ।  स्थानीय राम काप्रीले उपभोक्ता समितिले पालिकाबाट लिने काममा सहजता कम भएको, बालक्लबलाई खेल्ने खेलमैदान नबनाइ खेलकुद सामग्री बाँडिएको प्रति आफ्नो गुनासो व्यक्त गर्नुभएको थियो । 


कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले अन्तक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो ।  समाजसेवी टोलनाथ घिमिरे, दिनेश न्यौपाने, संगिता काफ्ले घिमिरे, कमला पौडेल तिवारी, कृष्णप्रसाद पराजुली, रामचन्द्र घिमिरे, अस्मिता घिमिरे, शंकर आचार्य लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।  

वडा सदस्य शान्ता घर्तिले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण हरि पौडेलले गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरुलाई मोही वितरण गरिएको थियो । नगरपालिका तथा वडाका कार्यक्रममा स्थानीय उत्पादनलाई जोड दिनु राम्रो अभ्यास हो ।