निःशुल्क, अनिवार्य र सर्वसुलभ शिक्षा प्रवद्धनमा जोड

२०८१ चैत ३ सोमबार १६:२०:०० मा प्रकाशित

काठमाडौँ ।  राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले निःशुल्क अनिवार्य र सर्वसुलभ शिक्षा प्रवद्र्धनमा जोड दिँदै आन्दोलनरत शिक्षकको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।


राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद शर्माले शिक्षकको आन्दोलनको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । “शिक्षक आन्दोलनमा छन् । उनीहरु शिक्षक विधेयक संशोधनका लागि आन्दोलनरत छन् । ऐन परिवर्तन गर्न जरुरी छ,” सांसद शर्माले भन्नुभयो, “उच्च शिक्षा ऐन र विद्यालय शिक्षा ऐन तुरुन्त ल्याउनुपर्छ ।”


आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको हक कार्यान्वयन हुन नसकेको सांसद शर्माले बताउनुभयो । गणतन्त्र कार्यन्वयनका लागि एकता जरुरी रहेको उहाँको भनाइ थियो । “आन्दोलनले मुलुकमा परिवर्तन ल्यायो । त्यही परिवर्तनले धर्मनिरपेक्षता, गणतन्त्र र सङ्घीयता लागू भए । हामीले स्थापित गरेका यिनै साझा विषयवस्तु कार्यान्वनय गर्ने कर्तव्य पनि हाम्रो नै हो,” उहाँले भन्नुभयो ।

 

यसैगरी विशेष समयमा सांसद तुलसाकुमारी दाहालले युद्धरत मुलुकमा श्रममा जान अनुमति दिन नहुनेमा जोड दिनुभयो । “रोजगारी प्राप्त गर्नेभन्दा पनि बाँच्न पाउने अधिकार ठूलो हो । वैदेशिक रोजगारीमा जाँदा युद्ध नचेलेको देशमा जानका लागि मात्रै अनुमति दिनुपर्छ,” उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने श्रमिकले पठाएका रेमिटेन्सको उचित सदुपयोग गर्नुपर्छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ती श्रमिकलाई आवद्ध गराउन जरुरी छ ।”

 

कुन देशमा कति श्रमिक रहेको भन्ने कुरा लेखाजोखा गर्न आवश्यक रहेको सांसद दाहालको भनाइ थियो । अर्थतन्त्र चलायमान बनाउँदै मुलुकमा नै रोजगारीको वातावरण तय गर्नुपर्ने र प्राविधिक शिक्षा प्रवद्र्धन गर्नुपर्ने, कृषि, पर्यटन क्षेत्रको पहिचान गरेर रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा दाहालले जोड दिनुभयो । रासस