मध्यविन्दु वडा नम्बर १ लाई पूर्ण विकू सदस्य वडा घोषणा 

२०८१ फाल्गुण २५ आइतबार १९:१३:०० मा प्रकाशित


मध्यविन्दु । विकू बचत तथा ऋण सहकारी संस्थाले मध्यविन्दु १ लाई पूर्ण विकू सदस्य वडा घोषणा गरेको छ । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले विकूको कार्यक्रममा मध्यविन्दु १ लाई पूर्ण विकू सदस्य वडा घोषणा गर्नुभएको हो । 

मध्यविन्दु १ का ९५ दशमलब १ प्रतिशत घर परिवारका सदस्य विकू सहकारीमा सदस्य बनेकोले वडालाई पूर्ण विकू सदस्य वडा घोषणा गरिएको संस्थाका सचिव गोविन्द कँडेलले जानकारी दिनुभयो । 

मध्यविन्दु वडा नम्बर १ मा १ हजार ६३ घरधुरि रहेकोमा १ हजार ११ घरधुरीका सदस्य विकू वचत तथा ऋण सहकारीमा आवद्ध रहेका छन् । 
विकूको यस सेवा केन्द्रमा ५ हजार शेयर सदस्य, २५ करोड ऋण लगानी, ४० करोड पँुजी रहेको विकु साकोसका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिनुयो ।

घोषणा कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले विकू विश्वासिलो र गर्विलो संस्था भएको बताउनुभएको छ । साथै नगरपालिकाले आगामी दिनमा पनि सहकार्य समन्वय र अन्तरक्रिया गर्दै अगाडी बढ्ने बताउनुभएको छ । 
 

कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिकाका नगर उपप्रमुख पुर्णकला चौधरीले मध्यविन्दु १ भाग्यमानी वडा भएको बताउनुभयो । सहकारी अभियानमा उत्कृष्ट रहेको नगरको विकूले पूर्ण सहकारी वडा घोषणा गर्नु सबैको लागि खुसीको कुरा भएको बताउनुभयो । उहाँले नगरपालिका र विकूको उदेश्य एउटै समाज विकास र नागरिकको विकास रहेको बताउँदै सहकार्यलाई निरन्तरता दिएर अगाडी बढ्ने बताउनुभएको छ । 

विकू सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटा राजुले आर्थिक अनुशासन, चेतना, असल बानी, आहार, व्यवहार र सङ्गतले मानिसलाई चिनाउने बताउनुभएको छ । 

विकु साकोसका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले पूर्ण विकू सदस्य वडा घोषणापछि तालिम वित्तीय साक्षरता तालिम, सहुलियत दरमा ऋण लगानी, सचेतना, व्यवसायिक तालिम योग ध्यानका शिविर, प्लास्टिक रहित घर, योजना निर्माणमा सहयोग, खेलकुद र युवा कार्यक्रम , दीर्घ रोगको उपचारमा सहयोग लगायतका कार्यक्रम विकुले गर्ने बताउनुभयो । 


मध्यविन्दु १ का वडाध्यक्ष तिलकराम न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. नवलपुरका अध्यक्ष बद्री नेपाल, विकू सहकारीका लेखा सुपरिवेक्षण समीति संयोजक कमल सुबेदी, संस्थापक अध्यक्ष खेमराज सापकोटा, मध्यविन्दु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मान बहादुर महतो, मध्यबिन्दु वडा नम्बर १ का वडा सदस्य जीवन गिरि, मध्यविन्दुका विभिन्न वडाका जनप्रतिनिधि, विकू नवलुम्बिनी सेवा केन्द्रका संयोजक बसन्तराज गिरि र चिरञ्जीवी काफ्लेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

विकूले नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम) र चितवनका गरी १४३ वडामा २४ वटा सेवा केन्द्र मार्फत करिब १ लाख ३० हजार सदस्यलाई वित्तीय तथा गैरवित्तीय कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा विकूका उपाध्यक्ष कालिदास गौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

यस अघि गैंडाकोट नगरपालिका वडा नं. ९ लाई पनि ‘पूर्ण विकू सदस्य वडा’ घोषणा गरिएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । दोसल्ला ओढाई विकूको टेक्ने लौरो र स्थानीय उत्पादन मह वितरण गरि सम्मान गरिएको हो । सम्मानले ज्येष्ठ नागरिक खुसी देखिएका थिए ।