नगरप्रमुखज्यू, प्रारम्भिक बालकक्षा सुधारौँ

२०८१ मङ्सिर २७ बिहीबार ११:१८:०० मा प्रकाशित


पूर्व प्राथमिक कक्षाको मूल उद्देश्य भनेको विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गिण विकास गरी उनीहरूलाई विद्यालयकालागि तयार गराउने हो । शिक्षा ऐन २०२८ को सातौँ संशोधन अनुसार एक वर्षे पूर्व प्राथमिक शिक्षालाई नेपाल सरकारले मान्यता दिएको देखिन्छ । २०७५ सालको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी बनेको विधेयकमा चार वर्ष (४८ महिना) पूरा गरेका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको शिक्षालाई पूर्व प्राथमिक कक्षा अथवा प्रारम्भिक बालविकास तथा शिक्षा भनिएको छ । नेपाल सरकारबाट एक वर्षकालागि मात्र मान्यता दिइएतापनि बालबालिकाको प्रारम्भिक बालविकास तथा स्याहारसँग जोड्दै, समूदायको चाहना तथा माग अनुसार सामुदायिक विद्यालयमा दुई वर्ष र नीजि विद्यालयमा चार वर्षसम्म प्रारम्भिक बालविकास कार्यक्रम भित्र पूर्व प्राथमिक कक्षा सञ्चालन भइरहेका छन् । 


गैँडाकोट नगरपालिकाकै पञ्चवर्षिय शैक्षिक योजनाका अनुसार वर्तमान अवस्थामा गैँडाकोट नगरपालिकाभित्रका सबै ५३ विद्यालयहरूमा, समुदायमा आधारित तथा निजी समेत गरी ७२ प्रारम्भिक बालविकास केन्द्रको रूपमा कक्षाहरू सञ्चालनमा रहेका छन् । समुदायमा आधारित ३ ओटा प्रारम्भिक बालविकास केन्द्रहरू समेत सञ्चालनमा छन् । बालविकास केन्द्र केही विद्यालयमा २ ओटा केन्द्रको रूपमा सञ्चालन छन् भने अन्य अधिकांश विद्यालयमा एक एक ओटा बालविकास केन्द्रको रूपमा कक्षाहरू सञ्चालनमा छन् । सरकारी तबरबाट एक जना बालविकास सहजकर्ताको दरबन्दी भएको विद्यालयलाई एउटा बालविकास केन्द्रको रूपमा लिइएको छ । संस्थागत विद्यालयहरूमा बालविकास केन्द्रलाई विभिन्न नामका आधारमा सम्बोधन गर्ने गरिएको छ । त्यहाँ कार्यरत जनशक्ति समेत तालिम प्राप्त नभएको अवस्था छ । सामुदायिक विद्यालयमा सञ्चालन भएका प्रारम्भिक बालविकास केन्द्रमा पुरानै ढाँचाअनुसारको व्यवस्थापकीय पद्धती कायम रहिरहेको छ ।  


पूर्व प्राथमिक तहको तीन वर्षको विद्यार्थी संख्या हेर्ने हो भने नगण्य नै सही संख्या बढ्दै गएको छ । २०७८ सालमा ४ हजार ६२, २०७९ सालमा ४ हजार १ सय ७७, २०८० सालमा ४ हजार ३ सय ८७ विद्यार्थी बालकक्षामा देखिन्छन् । यो नै गैँडाकोट नगरपालिकाको समृद्धिको जग हो । यो जग बनाउन गैँडाकोट नगरपालिकाले शैक्षिक योजना, ,बलियो कार्यान्वयन, बलियो अनुगमन र बलियो पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक छ । 


२०७९/८० मा प्रारम्भिक बालविकास र शिक्षामा कुल भर्ना दर  ९४.४ प्रतिशत रहेको छ । २०८३ मा ९७ प्रतिशत र २०८४ मा १०० प्रतिशत पु¥याउने नगरपालिकाको पञ्चवर्षे योजना छँदै छ । यसका लागि सबै विद्यालयमा आकर्षण युक्त बालमैत्री पूर्वाधारको पनि आवश्यकता रहेको छ । पञ्चवर्षिय योजनामा एउटा यस्तो महत्त्वपूर्ण लाइन समावेश गरिएको छ “ शिक्षा दया, माया र दानको स्वरूपबाट अधिकारको रूपमा स्थापित हुन पुगेको छ ।” गैँडाकोट नगरप्रमुख ज्यूले यति कुरा मात्र बुझिदिन आवश्यक छ । बालकक्षाको पूर्वाधार निर्माणका लागि अब देउसी भैलो खेल्न पर्ने, चन्दा, सहयोग लिनुपर्ने अवस्थाबाट मुक्त गरिदिनुहोस् । पूर्वाधारयुक्त बालकक्षा निर्माणमा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीको नाम बरु इतिहासले स्वर्ण अक्षरले लेखोस् । अब चिसो मौसम सुरु भएको छ । यो चिसो मौसमको सुरुवातमै एकपटक सामुदायिक विद्यालयका बालकक्षाहरु अनुगमनमा जाने समय निकाल्नुहोस् ।  के तपाईंको नगरको समृद्धिका लागि भविष्यका कर्णधारहरु कसरी बसेर पढिरहेका छन् ? के खाइरहेका छन् ? कस्तो कपडा लगाइरहेका छन् ? राज्यको, प्रदेशको र स्थानीय सरकारको पनि सेवा लिइरहेका सहजकर्ताहरूले बालमनोविज्ञान बुझेर सहजीकरण गरिरहेका छन् ? जति गर्नुपर्ने हो के त्यति भइरहेको छ ? भइरहेको कार्यदेखेर सन्तोषले श्वास फेर्न सक्छौँ होला ?

बालकक्षाका बालबालिकाहरूको शारीरिक विकास, सामाजिक तथा सम्वेगात्मक विकास, बौद्धिक विकास, भाषिक विकास र सांस्कृतिक विकासमा ढुक्क हुनेगरि सन्तोषले अझै श्वास फेर्न सक्नेगरि काम भएको छैन । केहीमा भएको छ होला ? उहाँहरू धन्यवादका पात्र हुनुहुन्छ । तर धेरैमा सुधारको आवश्यकता छ ।  


बालविकास केन्द्रमा सहजकर्ताको रूपमा कार्य गर्न लाइसेन्सको प्रबन्ध मिलाउने नगरको योजना छ । बालविकास केद्रको स्तर निर्धारण  र  तोकिएको मापदण्ड तथा स्तर अनुसार मात्र बालविकास केन्द्रको सञ्चालन लगायतका योजनामा छिटो काम गर्नुपर्ने आवश्यकता छ । एउटा बाटो ढिलो बन्दा केही फरक पर्देन १ वर्ष मात्र काम ढिलो सुरुवात भयो भने करिब ४ हजार बालबालिकाहरुले भविष्यमा फरक पार्दछ ।

कक्षा १ देखि ५ कक्षासम्मको शिक्षा निःशुल्क भएको छ, खुसीको कुरा हो । खुसी निःशुल्क शिक्षाले मात्र भन्दापनि सँगसंगै गुणस्तरीय शिक्षाले अझ बढ्ने रहेछ । पूर्वाधार निर्माणमा लगानी सँगसँगै शैक्षिक गुणस्तरको लागि तपाईंकै नेतृत्वमा पहलकदमी होस् । २० वर्षपछिको सुन्दर समुन्नत गैँडाकोटकालागि शिक्षा सुधार गर्नुहोस्, शिक्षा सुधारको पहिलो खुड्कीलो बालकक्षा सुधारबाट प्रारम्भ गर्नुहोस् ।