घरघरमा लक्ष्मीपूजा मनाइदै
बिहिबार साँझ घरघरमा ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा बिहीबार बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका भनिन्छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । लक्ष्मी पूजाको प्रचलन कसरी सुरुवात भयो त ? लक्ष्मीनारायण मन्दिर त्रिवेणीधामका मठाधिश चक्रपाणी स्वामी बताउनुहुन्छ ।
आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । आफ्नो यथासक्य अवस्था अनुसार लक्ष्मी पूजा गर्न सकिने चक्रपाणी स्वामी बताउनुहुन्छ ।
लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस भनी कामना गर्ने शास्त्रीय विधि रहेको छ । लक्ष्मीजीसँगै भगवान श्रीगणेशको पूजा गर्नाले व्यवसायिक प्रतिष्ठानको आर्थिक अवस्था राम्रो हुने चक्रपाणी स्वामीको भनाइ छ ।
आज साँझ युवतीले समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख छ । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि धर्मशास्त्रविद्हरुको भनाइ छ ।