शक्तिपीठहरूमा 'सराय नाच '
विष्णु पन्थी 'विनु'
गैँडाकोट- २, नवलपुर
मौलिक संस्कृतिको रुपमा परम्परादेखि मनाइने सराय (सराएँ) को छुट्टै महिमा रहेको छ । यसलाई सराय नाच पनि भनिन्छ । गुल्मी, अर्घाखाँची तथा प्युठान जिल्लाका सबै शक्तिपीठहरुमा सराय नाच विशेष रूपमा मनाइन्छ । हिन्दुहरुको महान चाड दशमी तिथिमा पर्ने विजयादशमीसँगै यी स्थानमा महिमाको रुपमा रहेकोको सराय नाच पनि हो । लुम्बिनी र गण्डकी अञ्चलका अन्य केही शक्तिपीठहरुमा पनि एकादशीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म आआफ्नो नजिकैको कोटहरुमा मनाउने हुनाले यस सराय नाचलाई पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाचको रुपमा लिन सकिन्छ। विशेष त पश्चिम क्षेत्रका ऐतिहासिक कोतघरहरुमा तथा दुर्गा र कालिका मन्दिरमा नाचिन्छ ।
पृथ्वीनारायण शाहको पालामा छरिएर रहेका बाइसे चौबीसे राज्यहरुका नजिकै रहेका कोतघरहरूमा पनि सराय नाचेर राजाहरूलाई मनोरञ्जन दिने चलन थियो भन्ने भनाइ पनि छ । यो सराय नाच असुर (राक्षस)सँगको लडाइमा सत्यको विजय भएपछि सत्यका पक्षधरहरुले विजयोत्सवस्वरूप मनाउन थालिएको हो भन्ने भनाइ छ । दैत्य र दानवमाथि देवी देवताले विजय हाँसिल गरेपछि त्यसको खुसियालीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान गर्न थालिएको किंवदन्ती छ । युद्धमा प्रयोग भएका खुँडा, खुकुरी, तरबार, भाला, लठ्ठी, ढाल लगायतका घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिनेगरी सराय नाच नाचिन्छ।
दशैँको पहिलो दिन अर्थात नवरात्रिको प्रथन दिनलाई घटस्थापना भनिन्छ । घटस्थापनको दिन सबैको घरमा घडा स्थापना गरेर आवश्यकतानुसार जमरा राखिन्छ। सोही दिनदेखि प्रत्येक शक्तिपीठहरुमा पनि शक्ति स्वरुपा देवीका विभिन्न नवौं रुपको प्रतीकात्मक रुपमा पूजा-पाठ गरिन्छ । दशमीको दिन बिहान शुभसाइत अनुसार चामल, अविर, दही अनि केरा मिश्रित अक्षता र जमरा मान्यजनको हातबाट लगाइन्छ । ठाँउ अनुसार कतैतिर टाढा टाढा रहेका आफन्त तथा मान्यजनहरूको हातबाट पूर्णिमासम्म पनि टीका लगाएर आशीर्वाद ग्रहण गर्ने चलन रहेको पाइन्छ ।
दशमीको भोलिपल्ट एकादशीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म कोतघरमा पूजा-पाठ सहित ठाँउ अनुसार आआफ्नो पायक पर्ने ठाउँमा पुगेर सराय नाच नाचिन्छ।
कोतमा आलम (भगवानको प्रतिमा) निकालेर विभिन्न थरिका ध्वजापतकाहरुले सिँगारिएको आलमलाई भगवानको प्रतीकको रुपमा मन्दिरबाहिर विधिपूर्वक निकलेर राखिन्छ र विधिपूर्वक पूजा-पाठ गरिन्छ । आलमलाई राखेको ठाँउ नजिकै औपचारिक रुपमा सराय सुरू गरिन्छ । सोही शक्तिपीठभित्र आलमसँगै देवीको मूर्तिसहित विधिपूर्वक राखिएका मन्दिरभित्रका खुकुरी तरबार, खुँडा, खड्ग र भाला आदि हतियार हातमा लिएर हतियार जुधाएर 'खेल भाइ हो, वाख्यै हा' भन्दै नाचिन्छ । एक अर्काले सुरक्षितसाथ हातमा हतियार लिएर नचाउँदैँ लडाउँदै दमाहा, झ्याली, सनई, नर्सिङा, कर्नाल बाजाका तालमा शक्तिपीठ नजिकै केही समय नाचेर विधिपूर्वक पुन: कोतमै विसर्जन गरिन्छ ।
परापूर्व कालदेखि ऐतिहासिक कोतघरहरूमा मनाउँदै आएको विजयोत्सवस्वरूप खुसियालीमा मनाइने यो पर्वमा राँगा बोकालगायत पञ्चबलि दिने चलन पनि रहेको पाइन्छ भने कतैतिर भाकल गरेर पञ्चबलि वा धुप धजा चढाएर विधिपूर्वक पूजा-पाठ गरेर पनि मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पनि पाइन्छ ।