कालिका मन्दिर कालिका आश्रममा श्रीमद्देवीभागवत महापुराण नवाहज्ञानयज्ञ एवं साधारण सभा 

२०८१ असोज २३ बुधबार १७:२९:०० मा प्रकाशित

गैँडाकोट । गैंडाकोट नगरपालिका वडा नं. ८ स्थित श्रीकालिका मन्दिर कालिका आश्रमको अक्षयकोष वृद्धि गर्ने विशेष उद्देश्यकासाथ यहि आश्विन १७ गतेदेखि श्रीमद्देवीभागवत महापुराण नवाहज्ञानयज्ञ जारी छ । साथै मन्दिरको २८औं साधारणसभा आश्विन २४ गते सप्तमीका दिन बिहान ११ बजेदेखि हुने भएको छ । 

वैदिक विधिपूर्वक समाजमा धार्मिक, आध्यात्मिकभाव जागरण गराई सनातन हिन्दू धर्मसंस्कृतिको प्रचार–प्रसारपूर्वक व्यक्ति, समाज र राष्ट्रमा शान्ति स्थापित गराउने शुभसंकल्पकासाथ श्रीमद्देवीभागवत महापुराण नवाहज्ञानयज्ञ चलिरहेको मन्दिरका अध्यक्ष पीताम्वर सापकोटाले जानकारी दिनुभयो ।

ज्ञानयज्ञ आश्विन २५ गतेसम्म चल्ने उहाँले बताउनुभयो । आरती, पुष्पाञ्जलि, स्थानीय मठमन्दिरका कलाकार एवम् विशिष्ट कलाकारहरूबाट संगीतमय भजन–संकीर्तन सहित चलिरहेको नवाह ज्ञानयज्ञमा उपस्थित भई कथा श्रवण गरी लाभान्वित हुनुहुन उहाँले अनुरोध गर्नुभयो ।

आश्विन २४ गते बिहीबार सप्तमीका दिन साँझ ६ बजे भजनकीर्तन एवं पञ्जेबाजासहित फूलपाती भित्र्याउने कार्यक्रम रहेको कालिका मन्दिर कालिका आश्रमका सचिव दया सागर सुवेदीले जानकारी दिनुभयो । साथै मन्दिरको २८औं साधारणसभा आश्विन २४ गते सप्तमीका दिन बिहान ११ बजेदेखि हुने भएकोले सम्पूर्ण साधारण/आजिवन सदस्य, दानदाता एवं भक्तजनहरुलाई उपस्थितिका लागि अनुरोध गर्नुभएको छ । 

ज्ञानयज्ञमा पं. सुरेश अर्यालबाट पाठपारायण, पं. गणेश पौडेलबाट संगीतमय कथा–प्रवचन भइरहेको कालिका मन्दिर कालिका आश्रमका सह सचिव गीता निउरेले जानकारी दिनुभयो ।