‘वृक्षरोपण त हुन्छ तर संरक्षणको अभावमा बिरुवा हुर्कन सक्दैनन्’

२०८१ श्रावण १० बिहीबार १०:५४:०० मा प्रकाशित

गैँडाकोट । हरेक वर्ष सामुदायिक वनहरु र सामुदायिक संघसंस्थाहरुले वृक्षरोपणको काम गर्दछन् । वृक्षरोपण त हुन्छ तर संरक्षणको अभावमा बिरुवा हुर्कन सक्दैनन् । संरक्षण मात्र होइन हावापानी, माटो र वनस्पतिको जीवनबारे जानकार नहुँदा वृक्षरोपण प्रभावकारी हुन छोडेको छ । 

सामुदायिक वनहरुले हरेक वर्ष वन विकास कार्यक्रम अन्तर्गत वृक्षरोपण गर्दछन् । रोपिएका सबै बिरुवा हुर्कन नसक्दा वृक्षरोपण गरिएको स्थान नै खाली देखिन्छ । वार्षिक एक हजार बढी वृक्षरोपण गर्ने भेडाबारी सामुदायिक वनमा पनि रोपेका धेरै जसो बिरुवा हुर्कन सकेका छैनन् । सामुदायिक वनका अध्यक्ष वीरबहादुर शाही भन्नुहुन्छ, “ बिरुवा लगाए अनुसार हुर्किएको भए क्षेत्रफल भरिन्थ्यो, हरेक वर्ष लगाइन्छ तर हुर्कन सक्दैन । तर वृक्षरोपण गर्न पनि छाडिएको छैन ।” 

गैँडाकोट १० मा रहेको मुकुन्दसेन सामुदायिक वनमा पनि वृक्षरोपण गरिएका विरुवा मध्ये ७५ प्रतिशत हुर्कन सक्दैनन् । वनका निवर्तमान अध्यक्ष चतुर्मान प्रधानले रोपिएका बिरुवा २५ प्रतिशतमात्र बाच्ने गरेको बताउनुभयो । 

मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटालाई विरुवा र जमिनको माटो नमिलेकै कारण यस्तो समस्या सिर्जना भइरहेको हो कि भन्ने आंशका छ । उहाँले भन्नुभयो, “बिरुवा नहुर्कनुमा हावापानी, माटो र मौषमको असर हो की भन्ने लाग्छ ।”

डिभिजन वन कार्यालय कावासोतीका प्रमुख, डिभिजनल अधिकृत वसन्त केशव अधिकारीले सामुदायिक वनहरुलाई बिरुवाको प्रजाति र बिरुवालाइ उपयुक्त हुने माटोका बारेमा अभिमुखीकरण गर्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीबाट नर्सरीबाट बिरुवा लिएर जानुहुन्छ लगाउदा ध्यान दिनुपर्ने कुरा र गर्नुपर्ने तयारी बारे सिकाएका पनि हुन्छौ तर पनि भने जस्तो भएको छैन ।”  

वृक्षरोपण गरी मल जल मात्र गरेर बिरुवाको संरक्षण हुँदैन । बिरुवाको प्रकृति अनुसार हावापानी र भूगोल पनि मिल्न आवश्यक रहेको छ । वन तथा भू संरक्षण विभागका वन अधिकृत सबनम पाठकका अनुसार सामुदायिक वनले बिरुवाको जात र माटोको सम्बन्ध पनि मिलाउन आवश्यक छ । उहाँका अनुसार बिरुवा दुई वर्षको कम्तिमा हुनुपर्छ भने पुसमा लगाएको बीउ असारमा रोप्दा हुर्कन्न । खाडल, मल, बीउ पानी, मौषम, हरेक पक्ष मिलाउनुपर्छ । 

माटो, हावापानी, मौसम अनुकलन हुने गरी स्थानको पहिचान गरी सोही अनुरुपका बिरुवा रोपण गर्न सकेको खण्डमा मात्र वृक्षरोपण प्रभावकारी हुने गर्दछ ।