ॐ शान्तिको समीपमा रहँदा

२०८१ जेठ २७ आइतबार १०:५१:०० मा प्रकाशित

कहिलेकाहीँ मनमा केही कुरा बुझ्ने अनि सिक्ने हुटहुटी जागेको हुन्छ । त्यो मन भनेको आत्मा हो । त्यो आत्माले जितेर पनि कहिले यो शरीरलाई त्यो स्थानसम्म लैजाने समय नहुने रहेछ । कतिपय कुरा आत्माले चाहेर पनि समयानुकूल हुन नसकेर त्यसलाई पूरा गर्ने इच्छा अधुरै रहने रहेछ । त्यस्तै अधुरै रहेको इच्छा थियो ॐ शान्तिको एक हप्ताको कोर्स । चञ्चल आत्मालाई आध्यात्मिक ज्ञानतिर केन्द्रित गर्ने अनि ज्ञान प्राप्त गरी नकारात्मक सोचाइलाई त्यागी मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहन सक्ने स्थान तथा आध्यात्मिक चिन्तनको छहारी हुन मठमन्दिर, तथा हरेक साधना स्थल । त्यस्तै साधना स्थलको लागि एउटा ॐ शान्ति स्थल पनि लाग्यो मलाई । कहिलेकाँही मानिसका मनमा एकाएक नकारात्मक तत्त्व सिर्जना हुन सक्छ । त्यो नकारात्मक ऊर्जालाई आत्माले नै समन गर्ने सक्ने शक्ति सिर्जना गर्ने स्थल नै साधना स्थल हो । त्यहाँ चित्त शुद्धिकरण गर्नुका साथै केही मनमा विकार छन् भने ती विकारहरुलाई हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । विकार भनेको खराब कुविचार मात्र भन्ने चलन छ तर ती मात्र होइनन् । मानिसका मनमा आउने विभिन्न किसिमका तनाव, अशान्ति, लोभ, मोह, क्रोध, अहङ्कार, ईश्र्या द्वेष आदि विकार हुन् । यिनै विकार हटाउन केही क्षण भएपनि सक्यो भने त्यसले दुखाईमा खाने सिटामोलको काम मानव मस्तिष्कमा गरिरहेको हुन्छ । जहाँ विभिन्न किसिमका देवदेवीका शक्तिपीठहरु राखिएको छ त्यहाँ जाने मध्ये पचास प्रतिशत मानिसले केही क्षणका लागि भएपनि नकारात्मक विचार मनमा हटाउन सक्छन् । कुविचार हटाएर सुविचार लिएर देवदेवीका चरणकमलमा शरण परेका हुन्छन् । सकारात्मक ऊर्जा लिएर पुनः यथा स्थानतिर प्रवेश गर्छन् । त्यसलाई निरन्तरता गर्ने माध्यम लिन सकिरहेका हुँदैनन् । सकारात्मक कदमका लागि समय, बार, तिथि पर्खनु पर्दैन । त्यो साधना हो । साधनालाई निरन्तरता दिनुपर्छ । साधनाले मानिसभित्रका मानसिक विकार हटाउने कार्य गरेको हुन्छ त्यस्तै साधनारत रहनुपर्छ भन्ने स्थल रहेछ ॐ शान्ति स्थल । 

विष्णु पन्थी ‘विनु’
गैँडाकोट–२, नवलपुर

स्वैच्छिक रुपमा २०८१ वैशाख ४ गते बेलुकी छ बजेदेखि सात बजेसम्म ॐ शान्तिको एक हप्ता कोर्स गर्न गैँडाकोट १ मिलन चोक स्थित ॐ शान्तिको सेवा केन्द्रमा पुग्यौँ । यस सेवा केन्द्रकी प्रमुख ॐ शान्तिकी साधक बहिनीजी ब्रह्मा कुमारी पुष्पिका हुनुहुँदो रहेछ । मन्द मुस्कान, नरम बोली सम्मानित भाषाशैली, समयपालक अनि उहाँको त्यो सकारात्मक विचारबाट त्यहाँ आएका जो कोही पनि प्रभावित नहुने कुरै थिएन । म, लगायत हाम्रो सात जनाको समूह नै प्रभावित भयौँ । मनमा पहिलेदेखि जागेको हुटहुटी अब पूरा गर्छु भन्ने लागेर मैले यो अवधिको  समय बेलुकी ठीक ६ बजेदेखि ७ बजेसम्म नियमित जाने निधो गरेँ । यो स्थानमा जान मलाई स्मरण गराइ रहने ॐ शान्ति शान्तिकी साधक सीता बहिनीजी हुनुहुन्छ ।  उहाँले सधै मेडम हजुरको समय कहिले मिल्छ  ? लौन जाऊँ भनिरहनु हुन्थ्यो । ४ गते पनि  हामी जानुभन्दा पहिले नै गएर परिचय गराइ सक्नु भएको रहेछ । मेरो बारेमा पहिलेदेखि कुरा गरिरहेकी हुनुहुँदो रहेछ । त्यहाँको बहिनीजीले मलाई पटकपटक भनिरहनु भयो ।   त्यसकारण त्यहाँ हाम्रो परिचय गर्न परेन ।
पहिलो दिन त्यहाँ विशेष गरी आत्मा र परमात्माको बारेमा जानकारी गराउनु भयो । सत्य, त्रेता, द्वापर युगको प्रसङ्गहरूलाई जोडेर कलियुगमा देखिएका विकृति विसङ्गति हिंस्रक, अहङ्कारलाई चिर्ने प्रसङ्ग आए । यसमा प्राणीहरुका परमपिता शिव परमात्माको आराधना गरेर सदगुणी बनाई हत्या, हिंसा, अहङ्कार, रिस, द्वेष, डाह जस्ता कुराहरूलाई त्यागी सत्मार्गमा लाग्ने सन्देश दिइएको थियो । आत्मा भनेको मन हो । ह्दय हो । आत्मा भनेको चैतन्य हो । परमात्मा परमेश्वर हो । आत्माको पिता परमात्मा हुनुहुन्छ । त्रिकाल, त्रिदर्सी  ब्रह्मा, विष्णु, महेश्वर जस्ता भगवानको समीपमा मानिस पुग्ने प्रयत्न गर्नु नै आत्मामा सुविचार सिर्जना हुनु हो । जब यो आत्मामा सुविचार प्रवेश गर्छ त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गरे त्यो नै देवात्मा हो । सर्व आत्माहरुका पिता एक शिव परमात्मा हुनुहुन्छ ।  तेत्तिस कोटी देवात्माहरु हुनुहुन्छ भने सबैका पिता एक परमात्मा हुनुहुन्छ । उहाँ नै पितापरमेश्वर शिव बाबा हुनुहुन्छ ।  शिव परमपिता हुनुहुन्छ भने प्रजापिता ब्रह्मा हुनुहुन्छ । अमरआत्मा कहिल्यै पनि नास हँुदैन । यो अटल छ । आत्मा अजर छ । आत्मा अमर छ ।  आत्मा अविनाशी छ त्यसैले यो भगवानरुपी आत्मालाई परिचालन गर्ने जीवित आत्मा मानवमा  नै रहेछ । यिनै कुरालाई उहाँले मृदुभाषी शैलीमा हामीलाई प्रष्ट पार्नु भयो ।

यदि मानवरुपी आत्मा नै सर्वश्रेष्ठ प्राणी नभएको भए कसैले गल्ती ग¥यो भने पहिले नै उसलाई भनिन्छ कस्तो राक्षस जस्तो रहेछ । त्यतिमात्र होइन विभिन्न जनावरको खराब नामले पुकारिन्छ । केही बुझेन, काँही राम्रो गरेन, कुबाटो लाग्यो भने पहिलो पटक सबैको मुखबाट निस्किन्छ कस्तो गोरु रहेछ, बुद्धि नै छैन । उनीहरूलाई भनिन्छ कस्तो खराब कुकुर, सुङ्गुर, बिरालो, बाघ, कनसुत्लो, कुम्भकर्ण, रङ फेर्ने छेपारो, जुका जस्तो आदि इत्यादि उपनामले उनीहरुको गल्तीको ऐसान गराइने थिएन होला ? जनावर पनि बफादार त हुन्छ । ऊ माउतेको लागि मात्र चल्छ । एउटा कुकुर घरमालिकको सुरक्षाका लागि बफादार द्वारे बन्छ । किनकि उसलाई घर मालिकले भोकमा खान दिन्छ । त्यही खाना मालिकले उसको बच्चा छाउरो र उसलाई सँगै एकै भाडोमा दियो भने त्यो बच्चाको ख्यालै नगरी माउले खान्छ । तर त्यही खानेकुरा मानवले छोराछोरीलाई खुवाएर आफूलाई पुगे मात्र खान्छ । त्यसैले पृथ्वीको सर्वश्रेष्ठ चेतनशील, विवेकशील प्राणी मानव नै हो ।

मानवले राम्रो ग¥यो भने विभिन्न देव देवात्मा (गणेश, कृष्ण, विष्णु, लक्ष्मी, सरस्वती, पार्वती, देवी आदि) हरुको उपमाबाट मनुष्यलाई पुकारिन्छ । राम्रो देख्नासाथ भनिन्छ, कस्तो असल छ, बत्तीसै गुणले युक्त । कसैलाई कसैले राम्रो सहयोग ग¥यो भने उसले आत्मैदेखि भन्छ मेरो लागि त उहाँ भगवान हो । त्यही मान्छेले अरु कसैको चित्त दुखायो भने अर्कोले भन्छ मेरो लागि त त्यो सबैभन्दा घातक मान्छे हो । त्यसैले कसैलाई मारेर दुःख दिने अनि देखावटी रुपमा कसैका लागि राम्रो गरेर अरुका नजरमा भगवान सावित हुन खोज्नेहरुको आत्मामा अशान्त छ । त्यसैले यो आत्माबाट परिचालित माननीय कार्य नै उसको कर्म  हो । मानिसले गरेका सकारात्मक वा नकारात्मक तिनै विभिन्न किसिमका कर्मले दिने भोगाइ उसको  प्रतिफल हो । कर्ममा विश्वास गरेर निरन्तर आफ्नो इमानदारितालाई प्रस्तुत गरेर सँधै सतकर्ममा समर्पित भयो भने जीवनमा उसले धेरै उपलब्धि हाँसिल गरेको हुन्छ । त्यसले नै मरुभूमि जस्तो जीवनलाई स्वर्गको नन्दन बनाउन सक्छ त्यो नै आनन्द हो । सेवाभाव राखेर  शारीरिक तथा मानसिक रुपमा पूर्ण सन्तुष्ट लिनु नै सुख हो । मानिसको मष्तिष्क नै त्यस्तो स्थल हो जहाँ स्वर्गको नन्दन रहेको हुन्छ ।

संसारमा मानिस जति धनी छन् त्यहाँ धनका कारण नै असन्तुष्ट सिर्जना भएको पाइन्छ । त्यसैले धन खासै केही पनि होइन । धन भनेको नाशवान् रैछ । कुनै व्यक्तिले अथाहा धन कमायो, जग्गा जमिन अथाह छ, उसका सन्तान तथा सबै छन् । तर ऊ एकाएक बोल्दाबोल्दै भौतिक शरीर त्यागेको छ भने त्यतिबेला उसको लागि न सम्पति काम लाग्छ न त उसका सन्तान वा आफन्त कोही काम लाग्दैनन् । उसको भौतिक शरीरलाई हतार हतार सम्सान स्थलमा पु¥याउन तर्फ लान्छन् । उसको पछि न सम्पति लाग्छ न त उसका सन्तति वा स्वजन लाग्छन् । केवल उसको आत्मा एक्लो हुन्छ । यदि राम्रो संस्कार दिएको छैन भने त्यहाँ बरु उसको मृत्युपछि अशान्ति उत्पन्न हुन सक्छ । सन्ततिमा धन सम्पतिका लागि घरमा झगडा सिर्जना हुन्छ । हल्लाखल्ला हुन्छ । जुन घरमा झगडा हुन्छ, भनिन्छ कि त्यो घरमा त  महाभारत नै हुन्छ । जुन घरमा शान्त छ सबै परिवारमा प्रेम छ एक आपसमा सबैले सबैलाई सम्मान गर्छन् भने त्यो घरमा त कति स्वर्ग छ भनिन्छ । एउटा मात्र मानिस खराब भए त्यो घरमा अशान्तिलाई भित्र्याउँछ । राम र रावणको युद्धमा राम वनबासी थिए । साथमा साथी वा सम्पति भाइ लक्ष्मण मात्र थिए तर रावणसँग सुनैसुनको दरबार थियो सम्पूर्ण राज्य थियो । सतको पक्षमा थोरै हुन्छन् भने असत्यको पक्षमा धेरै हुन्छन् । सतका पक्षधर पाँच पाण्डव र असत्यका पक्षधर सय कौरवको प्रसङ्गबाट प्रष्ट हुन्छ । तर सत्य, त्रेता, द्वापर युगमा अन्त्यमा सतको विजय हुन्थ्यो ।

वर्तमान राजनीतिक, सामाजिक परिवेश अनि सत्ताधारी प्रवृत्ति पनि त्यही अवस्थाबाट ग्रसित रहेको देखिन्छ । मानवीय व्यवहार दिनदिनै भेडाको स्वरुपमा अगाडि बढेको छ । यसरी आफ्नो यात्रालाई सहजरुपमा अगाडि बढाउन सत्कर्म आवश्यक पर्छ । त्यो सत्कर्म प्राप्त गर्न सत्मार्ग आवश्यक पर्छ । जसले सत्कर्म गर्छ त्यो सबै उसले यसै जुनिमा भोग्नुपर्छ । अर्को जुनी मिथ्या हो । अनावश्यक सम्पति मोह त्यागेर असल कर्म गरी निरन्तर कर्म र  कर्तव्यलाई एकैसाथ आगाडि बढाउन सक्नुपर्छ । मानिसले असत्य, हिंस्रक, ईश्र्या, द्वेष अहङ्कार, कुसंस्कार, अनावश्यक सम्पति मोह जस्ता कुरालाई आफ्नो वशबाट टाढा राख्न उत्प्रेरित गर्ने स्थल सत्सङ्ग, मठ मन्दिर थिए । अझै त्यसमा निरन्तर साधनारत रहन सके सँधै सकारात्मक सुविचार सिर्जना गर्ने प्रमुख स्थल रहेछ ॐ शान्तिको समीप भन्ने निष्कर्ष नै  मेरो एक हप्ताको साधनाको उपलब्धि रहयो ।