मौलाकाली केवलकारलाई स्थानीयको ध्यानाकर्षण 

२०८१ बैशाख २८ शुक्रबार १८:५६:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट वाड नं. १ र २ का स्थानीयले मौलाकाली केवकार प्रा.ली.लाई ध्यानाकर्षण पत्र बुझाएका छन् । स्थानीयको आर्थिक विकासका कार्यक्रम, स्थानीय पूर्वाधार विकासका कार्यक्रम, लोककल्याणकारी कार्यक्रमहरुमा केवलकार प्रा.लीले सहयोग गर्नुपर्ने भन्दै स्थानीयले केवलकारको स्टेशन, वडा कार्यालय र नगरपालिका लगायतका निकायमा ज्ञापनपत्र बुझाएको स्थानीय हरिकुमार आचार्य बताउनुभयो ।
स्थानीयले मौलाकालिका फेदीदेखि केवलकार प्रवेशद्धारसम्मको बाटो कालोपत्रे गरी व्यवस्थित गर्नुपर्ने, रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिनुपर्ने, गैँडाकोट १ र २ का स्थानीयलाई टिकटमा ७५ प्रतिशत छुट दिनुपर्ने लगायतका माग रहेका छन् । यस्तै वन वातावरण संरक्षण प्रर्यावरण सुधारका कार्यक्रम गर्नुपर्ने र सहयोग गर्नुपर्ने, मौलाकाली मन्दिरको धार्मिक तथा सांस्कृतिक पहिचान र संरक्षणमा जोड दिनुपर्ने लगायतका माग राखिएको स्थानीय प्रेम सापकोटाले बताउनुभयो ।  
गैँडाकोट नगरपालिकाले मौलाकालिका केवलकार प्रा.लीलाई पत्र लेख्दै स्थानीयबासीहरुले उठाएका ९ बुँदे मागको सम्बन्धमा आवश्यक सहजीकरण गरिदिनुहुन अनुरोध गरेको छ । मौलाकाली केवलकार प्रा.ली. का स्टेशन म्यानेजर सुरज पौडेलले स्थानीयसँग आपसी छलफल सहजीकरण गर्न केवलकार पक्ष सदैव तयार रहेको बताउनुभयो । स्टेशन म्यानेजर पौडेलले हाल केवकार प्रा.ली.मा ९५ प्रतिशत भन्दा बढी स्थानीय व्यक्तिले रोजगार प्राप्त गरेको बताउनुभयो ।