सहभागिले भने “निरन्तर अभ्यास गरे, सफलता सम्भव छ”

२०८१ बैशाख १६ आइतबार २०:५९:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ५ को आयोजनामा गत मंगलबारदेखी सुरु भएको दुई चरणको उद्घोषण तालिमहरू सम्पन्न भएका छन् । पहिलो चरणको तालिम मंगलबारदेखि विहिबारसम्म र दोस्रो चरणको तालिम शुक्रबारदेखि सुरु भएको थियो । आइतबार दोस्रो चरणको तालिमको समापन गर्दै गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले सिकेका सीप व्यवहारमा उतार्न सहभागिहरुलाई सुझाब दिनुभएको छ । गैँडाकोट ५ ले भौतिक पूर्वाधारमात्र नभएर मानवीय सीप विकासका क्षेत्रलाई प्राथमिकता राख्दै कार्यक्रम गर्ने गरेको बताउनुभयो । 
सहभागिहरूलाई शुभकामना दिँदै वडा सदस्य तथा कार्यपालिका सदस्य शान्ति न्यौपानेले प्रशिक्षार्थीहरुले सिकेको सीपले समाज रुपान्तरणमा मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभएको थियो । सुरुका दिनमा भन्दा समापन कार्यक्रमसम्म आइपुग्दा सहभागिहरूको आत्मविश्वास र कार्यक्रम सञ्चालनको तौरतरिकामा सुधार आएको महशुस गरेको बताउनुभयो । 
वडा सदस्य उषा परियारले सफलताका लागि घरबाट निस्कनुपर्ने र सफल वक्ता वन्नका लागि स्टेज चढ्नै पर्ने बताउनुभयो । विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले प्रशिक्षार्थीहरुका लागि तालिम समापन नभएको र आजबाटै तालिमको सुरुवात भएको बताउनुभयो । आत्मविश्वास र ज्ञानले अघि बढ्न सहज हुने उपाध्यायले बताउनुभयो ।

कार्यक्रममा विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय र सहायक स्टेशन म्यानेजर प्रेमबहादुर क्षेत्रीले तालिममा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । 


प्रशिक्षार्थीको तर्फबाट श्रीराम सोती र सभ्या थापाले तालिमले सामाजिक जीवन सहज बनाउने बताउनुभयो । निरन्तर अभ्यास गर्ने बानीले सफलता उन्मुख गराउने महशुस भएको उनीहरुले बताए । समापन कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी विष्णुप्रसाद गौतमले गर्नुभएको थियो । सहमति संस्थाको सभाहलमा वडाका टोल विकास संस्था तथा महिला समूहका पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागि उद्घोषण तालिम प्रदान गरिएको हो । पहिलो चरण र दोस्रो चरणमा गरि तालिममा वडाका १९ वटा टोल विकास संस्था र सोही टोलका महिला समूहका ३ जनाका दरले समूहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीले तालिमले आत्मविश्वास बढाएको बताउँदै आगामी दिनमा टोल तथा समूहमा कार्यक्रम गर्न सहज हुने बताएका थिए । कार्यक्रममा उनिहरुले भने “निरन्तर अभ्यास गरे, सफलता सम्भव छ”