स्कूल बसका चालक तथा सहयोगीलाई अभिमुखिकरण 

२०८१ बैशाख १६ आइतबार ०७:४४:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा स्कूलका बस चालक, सहचालक तथा व्यवस्थापन सहयोगीहरुलाई अभिमुखिकरण गरिएको छ ।

शनिबार गैँडाकोट नगरपालिका शिक्षा शाखाले ट्राफिक प्रहरीसँगको सहकार्यमा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका बसका चालक, सहचालक तथा व्यवस्थापन सहयोगीहरुलाई नगरपालिका डाँकेर अभिमुखिकरण गरेको हो ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट गैँडाकोटका ट्राफिक प्रहरी नायब निरीक्षक दामोदर मल्लले स्कूल बस सञ्चालन निर्देशिका २०७४ को पूर्ण पालना गर्न सचेत गराउनुभयो । उहाँले निर्देशिका पालना नगरे कारबाही गर्ने चेतावनी दिनुभएको छ । स्कूल बस दुर्घटनामा पर्नुको कारण स्कूल बस सञ्चालन निर्देशिका २०७४ को पूर्ण पालना नहुनु, तिब्र गति र अव्यवस्थित सडक मुख्य समस्याका रुपमा देखिएकोले यस्ता विषयमा सचेत बन्दै स–साना बालबालिकाको जीवन रक्षाका लागि आग्रह समेत गर्नुभयो । 

उहाँले स्कूल बस सञ्चालन निर्देशिका बारे जानकारी गराउँदै स्कूल बस ४० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा चलाउन नपाईने, स्कूल बसमा १२ वर्षभन्दा माथिका विद्यार्थीको हकमा सिट क्षमता बराबरको सङ्ख्यामा मात्र विद्यार्थी राख्नुपर्ने बताउनुभयो । १२ वर्षभन्दा मुनिका ३ जना राख्न पाउने व्यवस्था भएपनि गैँडाकोटका अधिकांश बसले सिट क्षमता भन्दा धेरै विद्यार्थी राख्ने गरेको भन्दै उहाँले सचेत गराउनुभयो ।  

स्कूल बस सञ्चालन निर्देशिका २०७४ अनुसार स्कुल बसहरु चलेको अवस्थामा ढोका बन्द गर्नुपर्ने, झ्यालहरुमा ग्रिल राख्नुपर्ने, स्कूल बसमा देखिने ठाँउमा अग्नि नियन्त्रण उपकरण राख्नुपर्ने, प्राथमिक उपचार बाकस व्यवस्था हुुनुपर्ने, सवारी चालक र सहचालकले विद्यालयले तोकेको पोशाक लगाउनुपर्ने व्यवस्था रहेको जनाउँदै यस्ता विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।

 

गैँडाकोट नगरपालिकाका शिक्षा शाखाका प्रमुख डा.बालकृष्ण चापागाईंले दुर्घटना हुन नदिन पहिले नै सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले अरुलाई पनि सकारात्मक सन्देश दिनुपर्ने विद्यालयमा नै हुने लापरवाहिले राम्रो सन्देश नजाने बताउँदै आगामी दिनमा दुर्घटना दोहोरीन नदिन सबै सजग हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा सहभागी चालक तथा सह चालक, सहयोगीले राखेका विभिन्न जिज्ञाशा अस्थायी ट्राफिक प्रहरी पोष्ट गैँडाकोटका ट्राफिक प्रहरी नायब निरीक्षक दामोदर मल्ल र शिक्षा शाखाका तर्फबाट शाखाका प्रमुख डा.बालकृष्ण चापागाईंले समाधान गर्ने प्रयास गर्नुभएको थियो ।