इलाममा मतगणना शुरु हुन सकेन, सर्वदलीय बैठक बस्दै

२०८१ बैशाख १६ आइतबार ०६:२६:०० मा प्रकाशित

इलाम— इलाम २ मा मतगणनामा ढिलाइ भएको छ। यसअघि शनिबार राति करिब १०–११ बजेपछि मतगणना शुरु हुने भनिएको थियो । तर मतपेटिका अबेर राति १ बजे मात्र सदरमुकाम आएपछि निर्धारित समयमा मतगणना शुरु हुन नसकेको हो ।

शनिबार राति नै मतगणना गर्नेमा नेकपा एमालेले असहमति जनाइरहेको थियो । एमालेका लागि इलामका चुनावी कमान्डर कृष्ण काफ्लेले आइतबारदेखि मात्रै मतगणना गर्न आफूहरू चाहिरहेको बताएका थिए ।

यद्यपि, इलामका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले भने शनिबार रातिदेखि नै मतगणना गर्ने दाबी गरेका थिए। तर त्यो सम्भव भएन ।

अब आज बिहान ७ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मात्रै मतगणना शुरु हुने प्रजिअ यादवले जानकारी दिए ।

शनिबार साँझ ५ बजे सम्पन्न इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । 

एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान गर्नेमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र २ जना अन्य छन्। महिलाको तुलनामा मतदान गर्ने पुरुषको संख्या ९८५ जना बढी छ । यो क्षेत्रमा १९ उम्मेदवार चुनावी मैदानमा छन् ।