खानेपानी परीक्षणका लागि प्रयोगशालाको माग 

गैँडाकोटमा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डको अन्तरक्रिया

२०८१ बैशाख १० सोमबार ०५:५१:०० मा प्रकाशित

गैँडाकोट । खानेपानीको परीक्षणका लागि गैँडाकोटमा व्यवस्थित प्रयोगशाला निर्माणका लागि आवाज उठाइएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रतिनिधिहरूले खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गैँडाकोटमै व्यवस्थित प्रयोगशालाको निर्माण र पानीको रिचार्जका क्षेत्रमा काम गर्नुपर्ने बताएका छन् । 

गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव केशवराज शर्मा, सहसचिव कृष्णप्रसाद काफ्ले, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपुरका सदस्य राधिका सापकोटा, नमुना शिवनगर खानेपानी संस्थाका अध्यक्ष जयराम कँडेल, जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष जगन्नाथ पौडेल, सचिव शालिकराम आचार्य, मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष रोहिणी सदाशंकर सुनार लगायतले खानेपानी बोर्डसँग सहकार्य गर्ने, प्रयोगशाला निर्माणमा आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन् ।

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले आगामी दिनमा खानेपानीको समस्या आउन सक्ने भएकाले यसको दीर्घकालिन कामका लागि खानेपानी बोर्डको गठन गरिएको हुँदा यसले सबैको हितमा काम गर्ने बताउनुभएको छ । 

बोर्डका संरक्षक एवं गैँडाकोट नगरउपप्रमुख शान्ति कोइरालाले सबै खानेपानी संस्थाका साझा मुद्धाको व्यवस्थापनका लागि खानेपानी बोर्ड क्रियाशील रहने बताउनुभएको छ । 

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डको गठनको आवश्यकता, गठनविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।  

खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डका संयोजक विष्णुप्रसाद सापकोटाले गँैडाकोटमा दीर्घकालिन रुपमा खानेपानीको समस्या समाधानका लागि बोर्ड क्रियाशील रहने बताउनुभयो । 

कार्यक्रममा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डका सदस्य सचिव शंकर कंडेल, गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारी, बोर्डका सदस्य समेत रहेका गैँडाकोट ६ का वडा अध्यक्ष शुभाष चापागाई सहित १२ बढी खानेपानी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डका शेषकान्त देवकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डका सदस्य इन्द्रराज ज्योती पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।