वन संरक्षणकर्मीका लागि नेतृत्व क्षमता विकास तथा सुशासन सुदृढीकरण तालिम  

२०८० मङ्सिर २४ आइतबार १६:०८:०० मा प्रकाशित

गैँडाकोट । वन संरक्षणकर्मीका लागि सहमतिको आयोजनामा गैँडाकोटमा तीन दिने नेतृत्व क्षमता विकास तथा सुशासन सुदृढीकरण सम्बन्धि तालिम सुरु भएको छ । 

सहमतिका अध्यक्ष होमनाथ सुवेदीले स्वागत गर्दै समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा त्रिपक्षीय लाभ हुनेगरी नवलपुरको गिन्द्री र चितवनको खगेरी उपजलाधार क्षेत्रमा सञ्चालित संरक्षणमुखी कार्यक्रमलाई प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो । तालिममा वन समूहहरुको आन्तरिक संरचना र प्रक्रियालाई सुदृढ गर्न, सुशासन, नेतृत्व र निर्णय क्षमता प्रभावकारी बनाउन, द्वन्द्व ब्यवस्थापन, सामाजिक संरचनामा शक्ति सन्तुलन र अधिकारमुखी विकास अवधारणाका विषयमा छलफल गरिने उहाँले बताउनुभयो ।

सहमतिको ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ का संयोजक खेमराज खनालले परियोजनाबारे जानकारी गराउँदै समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा त्रिपक्षीय लाभ हुने विश्वास व्यक्त गर्नुभयो । 

तीन दिनसम्म सहमतिका उपाध्यक्ष नगेन्द्रप्रसाद रिजाल र परामर्शदाता बुद्धिराम कुमालले प्रशिक्षण दिनुहुनेछ । सहमतिको सभाहलमा आयोजना गरिएको तालिममा चितवन र नवलपुरका गरी ३६ वटा सामुदायिक वनका प्रतिनिधिहरुको उपस्थिति रहेको सहमतिका सामुदायिक सहजकर्ता क्षितिज शर्माले जानकारी दिनुभयो । 

सहमतिले वन तथा भू–संरक्षण विभाग र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको समन्वयमा डब्लु डब्लु एफ नेपालको सहयोगमा प्रकृतिमा आधारित समाधान–ट्रिपल बेनिफिट परियोजना अन्तर्गत संरक्षणमुखी विविध कार्यक्रम गर्दै आएको छ ।